रमेश विश्वकर्मा
गुल्मी, माघ १ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि माघ तीन गतेदेखि पाँच गतेसम्म विभिन्न स्थानमा आयोजना गर्न लागिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनु भयो ।
शिक्षा शाखा प्रमुख पन्थीका अनुसार पहिलो खेल छोटो दूरीको दौड (छात्र/छात्रा) उनायचौरमा, भलिबल खेल (छात्र) रेसुङ्गा माविमा, पहिलो खेल लामो दूरीको दौड (छात्र/छात्रा) तम्घास बाख्रेछेंडामा, दोस्रो खेल कबड्डी (छात्र/छात्रा) रेसुङ्गा माविमा र तेस्रो खेल हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट उपल्लो तम्घास माविमा हुने भएको छ ।
चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष मुनिका छात्रछात्रालाई मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउन आग्रह गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडी/विद्यार्थीले एक खेल विधामा मात्र सहभागी हुन पाउने छन् । प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउने छन् । प्रतियोगिता सञ्चालनसम्बन्धी थप व्यवस्था राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार हुने छ ।