गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ११ गते । हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर पानवाला’ यस वर्षको ‘गाईजात्रा’ लाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ ल्याउनुभएको छ ।
‘मिसन नौटङ्की’ मार्फत आफूले सामाजिक विकृति, विसङ्गतिमाथि व्यङ्ग्य गर्दै दर्शक तथा श्रोतालाई मनोरञ्जन दिने कलाकार रिजालले बताउनुभयो । हरेक वर्ष जस्तै यस पटक पनि उहाँले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेट्नुभएको छ । यस पटक उहाँले चलचित्र ‘जात्रै जात्रा’ को गीत ‘लाइदेऊ माया पिरिम’ मा प्यारोडी बनाउनुभएको छ । २०६१ सालदेखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटङ्की’ २२ औँ कोसेली हो । गत वर्ष उनले ‘लुछाचुँडी’ ल्याउनुभएको थियो ।
‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, साबित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, वेदमणि अधिकारीलगायतको अभिनय छ । ‘मिसन नौटङ्की’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैँले गर्नुभएको छ ।
गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकाले सधैँ झैँ यो वर्ष पनि गाईजात्रे झटारो ल्याएको रिजालले बताउनुभयो । “सधैँ झैँ यो वर्ष पनि दर्शकले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ,” रिजालले भन्नुभयो ।