• ७ जेठ २०८१, सोमबार

खनियाँखर्कमा होटल भरिभराउ

blog

सिन्धुली समाचारदाता

खनियाँखर्क (सिन्धुली), असार ७ गते । कुनै बेला होटल नै देख्न मुस्किल पर्ने गोलन्जोर गाउँपालिका–५, रतनचुरास्थित खनियाँखर्क यतिखेर होटलले भरिँदै गएको छ । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्गका कारण आम्दानीको राम्रो सम्भावना बढेपछि खनियाँखर्कमा होटल व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ । खनियाँखर्कमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी ताराबहादुर मगर खनियाँखर्कमा होटल व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “कमाइ पनि राम्रै छ, रोजगारी पनि पाइएको छ । एक दशकअघि मैले होटल सुरु गर्दा यहाँ अरू कुनै पनि होटल थिएनन् । अहिले एक दर्जनभन्दा बढी होटल खुलिसके । आम्दानीको राम्रो सम्भावना देखेर नै बीपी राजमार्गले छोएका खनियाँखर्कजस्तै ग्रामीण गाउँ होटल व्यवसायीले भरिँदै गएका छन् ।” 

नजिकै ऐतिहासिक सिन्धुलीगढी रहेकाले त्यहाँ आउने आन्तरिक पर्यटक तथा बसका यात्रुबाट नै खनियाँखर्कको होटल व्यवसाय धानेको उहाँको भनाइ छ । बीपी राजमार्गकै कारण चियाबारी, सोलाभन्ज्याङ, खुर्कोट, खाल्टे, चैनपुर, मूलकोट, झाँगाझोली रातमाटा, नेपालथोकलगायतका ग्रामीण क्षेत्र यतिखेर होटलले भरिँदै गएका छन् । चियाबारीका सन्तोषकाजी थापा बीपी राजमार्ग निर्माणले उक्त ठाउँको स्वरूप नै फेरिएको बताउनुहुन्छ । 

“पहिले होटलको अभावमा भनेको समयमा एक कप चिया पनि खान पाइँदैनथ्यो, होटलले भरिभराउ छ,” उहाँले भन्नुभयो, “चियाबारी आउने जोकोही पनि चियाबारीको पहिलेको र अहिलेको अवस्था देखेर अचम्म पर्ने गरेका छन् ।” चियाबारीमा राजधानी काठमाडौँ जाने र आउने पाँच सयभन्दा बढी यात्रुवाहक सवारीसाधनले अहिले खाना खुवाउने ठाउँ बनेको होटल व्यवसायीसमेत रहनुभएका थापाले सुनाउनुभयो । 

त्यस्तै सुनकोसी गाउँपालिका–२, झाँगाझोली रातमाटाका सन्तोषकुमार बमले पनि २६ लाख रुपियाँ लगानी गरी होटल व्यवसाय सुरु गर्नुभएको छ । आठ आना जमिन वर्षको २४ हजार रुपियाँ भाडामा लिएर होटल व्यवसाय सुरु गरेको उहाँ बताउनुहन्छ ।