नवीन सुवेदी
सुर्खेत, साउन ९ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा शुक्रवार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार करेन्ट लागेर घाइते भएका ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रवार बिहान करिब पौने ११ बजे आफ्नै घरमा विद्युतीय घाँस काट्ने मेसिन प्रयोग गर्ने क्रममा करेन्ट लागेर उनीहरू गम्भीर घाइते भएका हुनुभएको थियो ।तत्कालै उहाँहरूलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक गगनसिंहको कमान्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तर अस्पतालमा उपचारकै क्रममा करिब ११ बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।