• १० साउन २०८२, शनिबार

रुसी वार्ताकारहरूले पुटिनसँगको सम्भावित भेटबारे छलफल गर्न थालेको जेलेन्स्कीको भनाइ

blog

किएभ, साउन ९ गते । इस्तानबुलमा यसै साता हुने वार्ताका लागि मस्को र किएभका वार्ताकारबिच छलफल भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनबिच भेटवार्ताको सम्भावनाबारे छलफल भएको युक्रेनी प्रतिनिधिमण्डललाई उद्धृत गर्दै जेलेन्स्कीले शुक्रबार एक विज्ञप्ति जारी गरी बताउनुभएको हो ।  

युक्रेनले दुई नेताबिच बैठकका लागि दबाब दिइरहेको छ र युद्धरत पक्षहरूलाई सम्झौता गर्न दबाब दिइरहेका डोनाल्ड ट्रम्पले पनि बैठकमा भाग लिन सक्ने आशा व्यक्त गरेको छ । पुटिनले आफू जेलेन्स्कीलाई भेट्न तयार रहेको तर तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ताको अन्तिम चरणमा मात्र भएको बताउनुभएको छ । 

जेलेन्स्कीले एएफपीलगायत पत्रकारसँग भन्नुभयो, “हामीलाई युद्धको अन्त्य आवश्यक छ, जुन सम्भवतः नेताहरूको बैठकबाट सुरु हुन्छ ।” उहाँले भन्नुभयो, “हामीसँगको वार्तामा उहाँहरुले यस विषयमा छलफल गर्न थाल्नुभएको छ । यो कुनै न कुनै प्रकारको बैठकको ढाँचातर्फ अघि बढिसकेको छ ।” बुधबार इस्तानबुलमा भएको नयाँ चरणको वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभले अगष्टको अन्त्यअघि वार्ता गर्ने प्रस्ताव गर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै महिनाको सुरुमा रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा व्यापक प्रतिबन्धको सामना गर्न ५० दिनको समय दिनुभएको थियो । यद्यपि रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्कीले आसन्न बैठकको सम्भावनालाई कम महत्व दिनुभएको छ । “बैठकको तयारी राम्रोसँग हुनुपर्छ । त्यसपछि मात्र यसको अर्थ हुन्छ,” मेदिन्स्कीलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ ।

-प्याट्रिअट्स र ड्रोन खरिद्का लागि सम्झौता-

द्वन्द्व अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म केही परिणाम दिन सकेको छैन । युक्रेनले रुसले निर्णय गर्ने कुनै वास्तविक शक्ति नभएको तल्लो तहका अधिकारी पठाएको आरोप लगाएको छ भने दुवै पक्षको अडानमा आमूल परिवर्तन आएको छैन । रुसले युक्रेनलाई सेप्टेम्बर २०२२ मा मस्कोले कब्जा गरेको दाबी गरेका चार युक्रेनी क्षेत्रहरूबाट प्रभावकारी रूपमा पछि हट्न आग्रह गरेको छ ।

युक्रेनले युद्धविरामपछिसम्म कुनै पनि क्षेत्रमा वार्ता गर्न अस्वीकार गरेको छ र क्रिमियासहित कब्जा गरिएको क्षेत्रमाथि रुसको दाबीलाई मान्यता नदिने बताएको छ । जेलेन्स्कीका अनुसार रुसले कुनै ठूलो सफलता बिना अझै पनि मोर्चाका धेरै भागमा अगाडि बढ्ने प्रयास गरिरहेको छ ।

युक्रेनले आफ्ना सैनिकका लागि हतियार पठाउन र युक्रेनी शहरहरूमा दैनिक रुसी आक्रमणको सामना गर्न आफ्ना पश्चिमी समर्थकहरूसँग आग्रह गर्दै आएको छ । जेलेन्स्कीले युरोपेली देशहरूलाई अमेरिकी हतियार खरिद गर्न र किएभलाई दिन अनुमति दिने सम्झौताको एक भागको रूपमा आफ्नो देशले १० प्याट्रियट हवाई रक्षा प्रणालीका लागि कोष सुरक्षित गर्न काम गरिरहेको बताउनुभएको छ । 

“संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले यी प्रणालीहरू हस्तान्तरण गर्ने छन्, हामीलाई बेच्नेछन्। हाम्रो काम सबै १० प्रणालीका लागि कोषको जमघट गर्नु हो,” जेलेन्स्कीले भन्नुभयो । युक्रेनले जर्मनीबाट दुई र नर्वेबाट एक गरी तीन वटा प्रणालीका लागि रकम सुरक्षित गरिसकेको उहाँले बताउनुभयो । जेलेन्स्कीले वासिङ्टन र किएभले युक्रेनलाई संयुक्त राज्य अमेरिकालाई ड्रोन उपलब्ध गराउन १० देखि ३० अर्ब डलरको सम्झौतामा सहमत भएको पनि बताउनुभयो । 

-आलोचकलाई स्पष्टिकरण दिने अवसर- 

जेलेन्स्कीले भन्नुभयो, “उहाँ युद्धको मुद्दामा केन्द्रित हुनुहुन्छ किनकि अहिले युक्रेनमा पहिलो मुद्दा युद्ध हो ।” तर भ्रष्टाचार विरोधी दुई निकायको स्वतन्त्रता खारेज गर्ने कानुन पारित भएपछि उहाँले विरोध प्रदर्शनको सामना गरिरहनुभएको छ । यो कानुन पारित भएपछि युक्रेनमा रुसको आक्रमणपछिको सबैभन्दा ठूलो सार्वजनिक विरोध प्रदर्शन सुरु भएको थियो र किएभका युरोपेली सहयोगीहरूले आलोचना गरेका थिए ।

जेलेन्स्कीले भन्नुभयो, “मानिसहरूले केही नचाहँदा वा कुनै कुरा मन नपराउँदा प्रतिक्रिया दिनु सामान्य कुरा हो ।” जेलेन्स्कीले भन्नुभयो, “मेरो लागि यो धेरै महत्वपूर्ण थियो, हामीले सुन्यौं र पर्याप्त प्रतिक्रिया दियौं ।” त्यसपछि सरकारले युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्यूरो (एनएबीयू) र विशेष भ्रष्टाचार विरोधी अभियोजक कार्यालय (एसएपीओ)जस्ता भ्रष्टाचार विरोधी निकायको स्वतन्त्रता बहाल गर्ने उद्देश्यले एक विधेयक पेश गरेको छ ।

जेलेन्स्कीप्रति वफादार रहेको संसद्ले कानुनको मस्यौदालाई अनुमोदन गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ । विवादास्पद कानूनको किएभका युरोपेली सहयोगीहरूले आलोचना गरेका छन् । उनीहरूले यस कदमले युक्रेनको युरोपेली सङ्घमा सामेल हुने प्रयासको लागि महत्वपूर्ण भ्रष्टाचार विरोधी सुधारलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए । “हामी युरोपको हिस्सा बन्न चाहन्छौँ । कोही पनि जोखिम मोल्न तयार छैनन्,” जेलेन्स्कीले भन्नुभयो । रासस/एएफपी