• १० साउन २०८२, शनिबार

निराशालाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

  • भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको राष्ट्रपति रामचन्द्र पौडेललको भनाइ । 

काठमाडौं, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनुभएको छ । 

राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । 

सो क्रममा राष्ट्रपति पौडेलले कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘इतिहासका अनेकौँ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अँगालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिकरुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’’ 

राष्ट्रपति पौडेलले षड्यन्त्रै षडयन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने भनेर विगतमा आफूले लेख लेखेको स्मरण गर्दै भन्नुभयो, ‘‘हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुल्ला र उन्नतशील समाजबाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जरूरी छैन, हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौ ।’’ 

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताउनुभयो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गर्नुभयो । 

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘‘उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो । थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय छ । त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ ।’’