• १० साउन २०८२, शनिबार

भेरी अस्पतालमा सिकलसेल जाँच गर्ने सेवा

blog

भेरीमा राखिएको नवजात शिशुहरुको सिलकसेल एनिमिया÷थालेसिमिया रोगको परीक्षण गर्ने उपकरण । तस्बिर सौजन्य : डा. राजन पाण्डे

गजेन्द्र गुरुङ

खजुरा, साउन ९ गते । पछिल्लो समयमा विभिन्न विशिष्टिकृत सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको नेपालगन्जस्थित भेरी अस्पतालले सिलकसेल एनिमिया-थालेसिमिया रोगको क्षेत्रमा थप नयाँ सेवा सुरु गर्न लागेको छ ।

सिलकसेल एनिमिया-थालेसिमियाका बिरामीहरुलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको भेरीले नेपालमै पहिलोपटक नवजात शिशुहरुमा पनि सिलकसेल एनिमिया-थालेसिमिया रोगको निदानका लागि नयाँ उपकरण जडान गरेर सेवा सुरु गर्न थालेको हो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले नेपालमै पहिलोपटक भेरी अस्पतालबाट सिलकसेल एनिमिया÷थालेसिमिया रोग निदानका लागि नवजात शिशुहरुको परीक्षण गर्ने तयारी गरिएको बताउनुभयो । “नवजात शिशुहरुमा उक्त रोग छ कि छ्रैन भनेर निदान गर्नका लागि अस्पतालमा उपकरण आइसकेको छ, उपकरणलाई भर्खरै इन्स्टल गरिएको छ, अबको केही दिनमै सेवा सुरु गर्छौँ, यो सेवा नेपालमै पहिलोपटक भेरीबाट सुरु हुँदैछ ।”

हालसम्म उक्त मेसिन नेपालमा नहुँदा एक वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिमा मात्र उक्त रोगको जाँच हुने गरेको थियो । अब यो उपकरणबाट शिशुहरु जन्मनेबित्तिकै देखिनै परीक्षण गर्न मिल्ने र छिटै रोगको निदान हुने तथा औषधि उपचार गर्न सहज हुने डा. पाण्डेको भनाइ छ । “यो मेसिन भारतमा पनि बिरलै छन्, अब बच्चा जन्मनेबित्तिकै देखि उक्त रोगको परीक्षण तथा निदान हुने र समयमै औषधि उपचार लिन सक्नेछन् ।”

“रोग लागेको २०-३० वर्षपछि मात्र रोग पत्ता लाग्ने गरेका केस छन्, एकपटक त ७१ वर्षको उमेरका एक व्यक्तिमा रोग पत्ता लागेको थियो, ढिलोगरी रोग पत्ता लाग्दा उपचारमा समस्या हुन्छ, तसर्थः बालबच्चा जन्मनेबित्तिकै जाँच गराएर रोग देखिएमा औषधी उपचार सुरु गरि समयमै स्वास्थ्य सेवा लिन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

डा. पाण्डेका अनुसार नवजात शिशुहरुलाई परीक्षण गराउनका लागि अस्पतालसम्म उनीहरुलाई ल्याउनु पर्दैन । आफ्नै गाउँघरबाट ड्राइ ब्लड स्पटमा निकालिएको रगत राखेर ल्याउन सकिने र अस्पतालमा ल्याएर जाँच गर्न सकिनेछ । “हामीले अब सबै स्थानीय तहसँग समन्वय गर्ने तयारी गरेका छौँ, हरेक पालिकाले आफ्नो पालिकाभित्र जन्मने हरेक शिशुहरुको अनिवार्यरुपमा उक्त रोग परीक्षणका लागि रगत सङ्कलन गरेर अस्पतालमा पठाउने व्यवस्था गर्ने स्वास्थ्य नीति बनाउन जरुरी छ, यसो भयो भने सबै शिशुहरुको तथ्याङ्क पनि सङ्कलन हुने र रोगको निदान पनि तत्काल हुन्छ ।”

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले लुम्बिनी प्रदेस सरकारको सहयोगमा उक्त मेसिन अस्पतालमा इन्स्टल गरेको बताउनुभयो । “गत वैशाख महिनामा लुम्बिनी प्रदेस सरकारले हामीलाई उक्त मेसिन दिएको थियो, भर्खरैमात्र भारतबाट सफ्टवेयर इन्जिनियरहरुलाई बोलाएर मेसिन इन्स्टलेसन गरेका छौँ, मेसिन रन भएको छ, अबको केही दिनमै उक्त मेसिनबाट सेवा प्रदान गर्दैछौँ, प्रदेश सरकारको करिब ७० लाख बजेटमा उक्त मेसिन खरिद गरिएको थियो । नवजात शिशुहरुको सिकलसेल एनिमिया÷थालेसिमिया रोगको अब निदान हुनेछ ।”

भेरी अस्पतालमा २०७३ बाट सिलकसेल एनिमिया÷थालेसिमिया रोगको उपचार सेवा सुरु गरिएको थियो । हाल देसभरमा करिब पाँच हजार यस रोगका बिरामी रहेका छन् । जसमध्ये १२ सय जना बिरामीले भेरीबाट नियमित रुपमा उपचार सेवा लिइरहेका छन् । यस रोगका बिरामीहरुलाई आवश्यक रगतसमेत निःशुल्क व्यवस्थापन हुने गरेको छ । गत पुसबाट १६ बेडको छुट्टै सिकलसेल वार्ड पनि अस्पतालले सञ्चालन गरेको छ ।