• १० साउन २०८२, शनिबार

दुर्गा भगवती गाउँपालिकाबाट अनलाइन नागरिकता सिफारिश सुरु

blog

नयाँ नागरिकताको अनलाइन सिफारिश उपलब्ध गराउनु हुँदै दुर्गाभगवति–३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन ९ गते ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने दुर्गा भगवती गाउँपालिका– ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताउनुभयो  ।

१८ वटा स्थानीय तह रहेको रौतहटमा कटहरिया र फतुवा विजयपुर नगरपालिका बाहेकका  पालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु गरेका छन् ।  कटहरिया र फतुवा विजयपुर नगरपालिकाले हालसम्म केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली  (सिसिआइएमएस) को माध्यमबाट अनलाइन सिफारिसको सुरुवात नगरेको जिल्ला प्रशासन कार्यालय रौतहटका नागरिकता फाँटमा कार्यरत नायब सुब्बा गोपाल कुमार झाले जानकारी दिनुभयो ।   

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख जनकराज पन्तका अनुसार नगरपालिका कार्यालयले  प्रिन्टर उपलब्ध गराएन, इन्टरनेट सेवा छैन भन्ने बहाना देखाई वडा कार्यालयले अनलाइन नागरिकता सिफारिश नगर्ने गरेको भएता पनि त्यस्ता हस्तलिखित  सिफारिशलाइ फिर्ता पठाइने गरेको बताउनुभयो  ।

साउन १ गतेदेखि अनिवार्य रुपमा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत नागरिकता सिफारिश गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले असार ३२ मा रौतहटका १८ वटै स्थानिय तहको लागि सूचना जारी गरेको थियो ।

रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाका अनुसार यस अघि २०८१ चैत १५ गतेका दिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै वैशाख २ गतेदेखि अनिवार्य रुपमा नयाँ नागरिकताको हकमा अनलाइन नागरिकता सिफारिश गर्न भने पनि केहि वडाबाट हस्तलिखित  सिफारिश आउने गरेकोले सेवा प्रवाहमा असर परिरहेको कारण साउन १ गतेदेखि अनलाइन सिफारिश अनिवार्य गरिएको बताउनुभयो ।

यो प्रणाली लागू भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हटेको छ  । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृहअन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउने अवस्था रहेको छ ।