• ९ साउन २०८२, शुक्रबार

सन्दर्भ : पुष्पलाल स्मृति दिवस

कम्युनिस्ट शक्तिबिच एकता आवश्यक

blog

पुष्पलाल स्मृति प्रतिष्ठान र समाजवादी मोर्चा नेपालद्वारा संयुक्त रूपमा बुधबार आयोजित विचार गोष्ठीमा सहभागी मोर्चाका नेता । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ८ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीवादविरुद्ध क्रान्तिकारी शक्ति एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र समाजवादी मोर्चा नेपालद्वारा संयुक्त रूपमा बुधबार यहाँ आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

पुष्पलालको विचारलाई मूल मार्गदर्शक मानेर पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध सबै कम्युनिस्ट शक्ति एकजुट भएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका साझा व्यक्तित्व हुनुहुन्छ । उहाँलाई सच्चा सम्मान गर्ने हो भने कम्युनिस्ट क्रान्तिकारीबिच एकता हुन जरुरी छ । उहाँलाई हामी सबैको केन्द्रमा राखेर सच्चा कम्युनिस्टले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो ।”

कम्युनिस्ट पार्टीहरूबिचको ध्रुवीकरणै नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रतिको सम्मान हुने बताउँदै उहाँले अहिले पनि आफू कम्युनिस्टहरूको एकताका लागि झन्डा बोकेर हिँडिरहेको जनाउनुभयो । उहाँले संविधान सभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्द गरेर मात्रै संविधान सभा सम्भव भएको स्मरण दाबी गर्नुभयो ।

त्यस्तै गरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त, सङ्गठन र सङ्घर्षै कम्युनिस्ट आन्दोलनको कडी रहेको बताउँदै कम्युनिस्ट एक भएर देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुन जरुरी रहेको बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा चुनौती देखिए सामना गर्ने साहस देखाउनुपर्ने उहाँको भनाइ छ ।

“कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन व्यक्तिभन्दा पनि नीति र सिद्धान्त महत्वपूर्ण हुन्छ । नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्बन गर्ने त्यसमा बहस गरौँ ।” उहाँले समाजमा भएका विसङ्गति हटाउन पुष्पलालको नीति अनुसार सर्वहारा वर्गको एकतामार्फत देशभित्र रहेका छुवाछुत, छाउपडीलगायतका प्रथा अन्त्य गर्न जागरण अभियान जरुरी रहेको बताउनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट आन्दोलनमा देखिएको विकृति विसङ्गति अन्त्य गर्न कम्युनिस्ट नेताहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।

बदलिएको परिस्थिति अनुसार सामाजिक न्याय, समानतामा आधारित समाज नबनाएसम्म समाजवादको कुनै कल्पना गर्न नसकिने दाबी गर्दै उहाँले पछिल्लो समय कम्युनिस्ट आन्दोलन जालझेलबाट अघि बढिरहेको समेत जिकिर गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजजादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्ट आन्दोलनमा एकता आवश्यक रहेको र त्यसका लागि निश्चित दृष्टिकोण जरुरी रहेको बताउनुभयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालका झारपात मौलाएको उहाँको तर्क छ ।