लीलाधर वली
घोराही, साउन ५ गते । दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग व्यवसायमा करिव दुई अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१-०८२ मा एक अर्ब ८६ करोड ३१ लाख नौ हजार दुई सय ५९ रुपियाँ लगानी भएको हो ।
जसमा घरेलु तथा साना उद्योगतर्फ ८० करोड ४७ लाख ७८ हजार दुई सय ५९ रुपियाँ र वाणिज्यतर्फ एक अर्ब पाँच करोड ८३ लाख ३१ हजार रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ । सूचना अधिकारी पौडेलका अनुसार जिल्लामा एक वर्षका अवधिमा चार सय ४९ वटा घरेलु उद्योग र पाँच सय ७९ वाणिज्यतर्फ फर्म दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१-०८२ मा चार सय ४४ वटा उद्योग र पाँच सय ५५ वटा वाणिज्य फर्म बन्द (लागत कट्टा गरिएको ) भएका छन् । एक हजार ७४ वटा घरेलु तथा साना उद्योग र एक हजार तीन सय ५९ फर्म नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा कृषि, जडिबुटीलगायतका साना उद्योगहरू थपिएका छन् ।
लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानु पर्ने भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेलले भन्नुभयो,‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको वार्षिक तथ्याङ्क हेर्दा एकै खाले देखिन्छ । व्यवसायिक क्षेत्रमा खास्सै उत्साह देखेको छैन ।’
एक हजार बढीलाई रोजगारी सिर्जना
यसैगरी, जिल्लामा एक वर्षको अवधिमा एक हजार बढीलाई रोजगारी सिर्जना भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा एक हजार २८ वटा घरेलु तथा साना उद्योगसँगै वाणिज्य फर्म दर्ता हुँदा एक हजार चार सय १६ जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्यम विकास सहजकर्ता अनिल चौधरी बताउनुहुन्छ ।
उहाँका अनुसार जसमा नौ सय २२ जना पुरुष र चार सय ९४ जना महिला रहनुभएको छ । यस अवधिमा चार सय दश महिला र पाँच सय ५९ जना पुरुष गरेर नौ सय ६९ जना नयाँ उद्यमी थपिनुभएको छ ।
यसैबिच जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा घरेलु तथा साना उद्योग कार्यालयले डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार उद्योगतर्फ ६६ लाख ४९ हजार ६ सय ५२ रुपियाँ र वाणिज्यतर्फ ९३ लाख ५८ हजार ६ सय १४ रुपियाँ गरेर एक वर्षको अवधिमा एक करोड ६० लाख ११ हजार १६ रुपियाँ राजस्व सङ्कलन भएको छ ।