• ९ जेठ २०८१, बुधबार

बाँझो जमिनलाई कृषि वनमा परिणत गरिँदै

blog

बाँझो जमिनलाई कृषि वनमा परिणत गर्न खनजोत तथा घेरबार गरिदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, असार ६ गते । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा दश हेक्टरभन्दा बढी बाँझो जमिनमा कृषि वन लगाउने कार्य भइरहेको छ । रोजगारी सिर्जना, उत्पादनमा वृद्धि ल्याउन र जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले कृषि वन लगाउन लागिएको हो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) र मिथिला नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले सो काम गरिरहेको छ । नगरपालिकाको स्वामित्वमा सो बाँझो जमिन छ । 

बाँझो जमिनको खनजोत तथा आरसीसी पोल गाडेर तारजाली लगाउने कार्य भइरहेको छ । त्यस्तै, सिँचाइ सुविधाका लागि इनार खन्ने काम भइरहेको छ । त्यसपछि काठजन्य, फलफूल तथा कृषिजन्य बालीका बिरुवा रोपिनेछ । 

यसरी कृषि वन स्थापना गरी वडाभित्रका ७५ जना भूमिहीन, विपन्न, रोजगारी गुमाएका र कोभिड–१९ बाट प्रभावितलाई पाँच कठ्ठाका दरले जमिन हस्तान्तरण गरिनेछ । साथै उहाँहरुलाई कृषि तालिम, आधुनिक कृषि उपकरण, प्राङ्गारिक मल र बीउबिजन समेत उपलब्ध गराउने सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले बताउनुभयो । 

उहाँले यस कार्यबाट सयौं जनाले रोजगारी पाउनुका साथै उत्पादकत्वमा वृद्धि भई खाद्य सुरक्षा, जैविक विविधता तथा भूमिको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक असरको न्यूनीकरण र अनुकूलनमा सकारात्मक योगदान पुग्ने जानकारी दिनुभयो । 

यस नगरपालिकाभित्र थप १० हेक्टर जमिनमा कृषि वन लगाउने योजना छ । त्यसका लागि नदी उकास तथा बाँझो जमिन खोज्ने कार्य भइरहेको छ । यस अतिरिक्त पर्यावरण तथा चुरे संरक्षणको क्षेत्रमा समेत काम गर्ने योजना कार्यालयको रहेको अध्यक्ष साहले बताउनुभयो । 

चुरे विनाश तथा क्षयीकरण रोक्न चुरे क्षेत्रमा वृक्षरोपण, खहरे नियन्त्रण गर्न तटबन्ध निर्माण गरी वृक्षरोपण गरिने जानकारी दिनुभयो ।