गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । कर्णाली विकास बैङ्कको घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैङ्कका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बस्नेतलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको जनाएको छ ।
सिआइबीका प्रवक्ता युवराज खड्काका अनुसार बस्नेत कर्णाली विकास बैङ्कको तत्कालीन अनुगमन अधिकृत रहेको पाइएको छ । सिआइबीले गत असार १८ गते कर्णाली विकास बैङ्कका संस्थापक तथा अध्यक्ष पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको थियो । त्यस्तै उक्त बैङ्कका सिइओ राजेन्द्रविक्रम राय गत जेठ १७ गते र लेखा प्रमुख वेदप्रकाशसिंह ठकुरी गत जेठ २० गते पक्राउ पर्नुभएको थियो ।
मुख्य आरोपी मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ विसं २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार रही पराजित हुनुभएको थियो । यस प्रकरणबारे सिआइबीको विशेष टोलीले बाँकेमै रहेर अनुसन्धान गरिरहेको छ । बैङ्कबाट हालसम्म दुई अर्ब ५० करोड रुपियाँ हिनामिना भएको भनी पीडितले प्रहरीमा उजुरी दिएका छन् ।