• १६ चैत २०८०, शुक्रबार

ऐतिहासिकस्थल संरक्षण अभियान सुरु

blog

गलेश्वर, असार ६ गते । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनर्निर्माण तथा संरक्षण अभियान सुरु भएको छ ।

म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित  वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन् ।

बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनर्निर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुनर्निर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, सत्तल, चौतारी र वर–पीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनर्निर्माण कार्यलाई अघि बढाएको छ ।

यसैगरी, बेनी –६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनर्निर्माण तथा मर्मतसम्हारको काम सञ्चालन भइरहेको बेनी–६ का वडाध्यक्ष कृष्ण बानियाँले बताउनुभयो । उहाँका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट नै खर्च गरेको छ ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँपुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका वर–पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उहाँले बताउनुभयो । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वर–पीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको वडाध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार १०० वर्षभन्दा पुराना वर–पीपलका रुख रोप्नेको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गतवर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु. दुई लाख बजेट खर्च गरिएको उहाँले बताउनुभयो । उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पीपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो ।

वर–पीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वर–पीपल र चौतारी छन् ।

यसैगरी, बेनी –२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ । वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ । ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीको संरक्षणका लागि स्थानीयसँग वडाले समन्वय गरेर काम अघि बढाइने उहाँले बताउनुभयो ।

छवटा स्थानीय तह रहेको जिल्लाका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत वर–पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वर–पीपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वर–पीपलका बिरुवा रोपिएको छ ।