• ३ साउन २०८२, शनिबार

जलवायुको असर न्यूनीकरण गर्न नाङ्गा पहाडमा वृक्षारोपण

blog

अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले गरेको वृक्षारोपणमा सहभागि समुदाय । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ(मुस्ताङ), साउन ३ गते ।
जलवायु परिवर्तनले बाढी र वन डेढेलोले जैविक विविधतामा ह्रास तथा वातावरणीय प्रदूषण निम्त्याउन थालेपछि मुस्ताङमा वृक्षारोपण गरिएको छ ।

मुस्ताङको नाङ्गा पहाडमा अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप)ले एक वर्षको अवधिमा तल्लो र उपल्लो मुस्ताङमा ११ हजारभन्दा बढी बृक्षारोपण गरेको हो ।

सार्वजनिकस्थल तथा समुदायसँगको सहकार्यमा भूगोल र माटो सुहाउँदो हरियाली बनाउन तथा समुदायको आयर्आजनमा समेत सघाउने गरी गत आर्थिक वर्ष २०८१/०८२ मा तल्लो मुस्ताङका पर्यटकीयस्थल, नदी कटानले जोखिममा परेका बस्तीलाई जोगाउन गोब्रे सल्ला, भोटे पिपल, बैस, पैयुँ लगायतका बिरुवा वृक्षारोपण तथा तारबारले संरक्षण गरिएको एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले बताउनुभयो ।

एक्याप इलाका संरक्षण कार्यालय जोमसोमले तीन हजार सात सय ७० बिरूवामध्ये कालिगण्डकी नदीको कटानले जोखिममा रहेको कागबेनी, तिरी गाउँ आसपासका क्षेत्रमा बाढीबाट जोगाउन र डढेलोले बन क्षेत्रमा क्षति भएको क्षेत्रमा विभिन्न समयमा वृक्षारोपण गरिएको रेञ्जर ओलीको भनाइ छ ।

रेन्जर ओली भन्नुहुन्छ, ‘‘वृक्षारोपण गरेपछि समुदायलाई संरक्षण गर्ने विधिहरू सिकाउँछौ, डढेलोले क्षति पुगेको क्षेत्रमा प्राथमिकता दिइएको छ ।’’ एक्याप जोमसोमको नर्सरीबाट समुदाय निजी साझेदारीअन्तर्गत ओखरसहित आयआर्जन हुने बिरूवा र भूक्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटनाको जोखिममा आवश्यक पर्ने दुई हजार नौ सय २५ बिरूवा वितरण गरेको जनाएको छ ।

तल्लो मुस्ताङमा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर आगो लगाउँदा माटोको प्राङ्गारिक तत्त्व नष्ट र वन्यजन्तुको बासस्थान नासिने जोखिम बढेको अवस्थामा बृक्षारोपणका लागि एक्पायले विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरेको छ । तल्लो क्षेत्रमा बर्सेनी डढेलोको प्रकोप बढेको छ ।

यसैबिच एक्याप इलाका कार्यालय लोमान्थाङले हरियाली बनाउन, तिब्वततर्फबाट बग्ने खोलाले बस्ती कटना गर्ने क्षेत्रमा भोटे पिपल, पशुपालन क्षेत्रमा घाँसका लागि समेत प्रयोग हुने तथा विभिन्न प्रजातिका बिरूवा वितरण गरेको छ । एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ, लो–घेकर दामोदरकुण्डका सबै वडाका साथै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङको माटो सुहाउँदो वृक्षारोपण तथा समुदायलाई नौ सय स्याउको बिरूवा वितरण गरिएको छ ।

उपल्लो मुस्ताङमा करिब ४५ सय विभिन्न प्रजातिका बिरूवा रोपिएको प्रमुख पौडेलले बताउनुभयो । एक्याप लोमान्थाङ प्रमुख भन्नुहुन्छ, ‘‘वृक्षारोपणका लागि समुदायको साथले सहज भएको छ, नाङ्गा पहाड हराबरा बनाउने अभियान छ ।’’ उपल्लो मुस्ताडका स्थानीय तहले हरियाली अभियानमार्फत प्राकृतिक प्रकोप न्यूनीकरण गर्न आन्तरिक स्रोतबाट समेत वृक्षारोपण अभियान सञ्चालन गर्ने गरेको छ । वृक्षारोपण अभियानमा स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लब, विद्यालयसहित विभिन्न संघसंस्थाहरूको सहभागिता रहने गरेको छ ।