बेइजिङ, साउन २ गते । चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा ३९.१ ट्रिलियन युआन रहेको खुद्रा बिक्री सन् २०२४ मा बढेर ४८.३ ट्रिलियन युआन पुगेको छ ।
यो दरले वृद्धि भइरहेमा सन् २०२५ सम्म खुद्रा बिक्रीको कुल रकम ५० ट्रिलियन युआन (सात ट्रिलियन अमेरिकी डलर) नाघ्ने अपेक्षा गरिएको छ । मन्त्री वाङका अनुसार, चिनियाँ बजारमा आन्तरिक माग लगातार विस्तार भइरहेको छ, जसको मुख्य कारण उपभोक्ताको बढ्दो उपभोग प्रवृत्तिमा आएको सकारात्मक परिवर्तन हो । चीनको घरेलु बजार विश्वकै एक प्रमुख उपभोक्ता बजारका रूपमा स्थापित हुँदै गएको छ ।
विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार, चीनको उपभोक्ता सामग्री खुद्रा बिक्रीले सन् २०२४ मा अमेरिकालाई समेत उछिनेको छ । रिपोर्टअनुसार, चीनको खुद्रा बिक्रीको परिमाण अमेरिका भन्दा करिब १.६ गुणा धेरै थियो, जसले चीनको आन्तरिक बजारको विशालता र प्रभावशाली आर्थिक वृद्धिलाई पुष्टि गर्छ । चीन सरकारले उपभोग बढाउने नीतिहरू अगाडि बढाइरहेको छ, जसले दीर्घकालीन आर्थिक स्थायित्वमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा