• २३ कात्तिक २०८१, शुक्रबार

डुम्रे–बेँसीसहर सडक : दुई लेन बनाउने काम तीव्र

blog

लमजुङ, असार ६ गते । डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पु-याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । 

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने उक्त योजना कार्यालयका सूचना अधिकारीले बताउनुभयो । उहाँका अनुसार १०/१० मिटरको लगतकट्टा भइसकेको छ  भने, अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

त्यस्तै, दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार ८ दशमलव तीन किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले अघिल्लो वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । त्यस्तै, कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने उक्त योजना कार्यालयले जनाएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ ।

 सडकका लागि भ्याट र पीएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । यस पहिलो चरणको निर्माणकार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु-याउन करिब साढे एक दशक लागेको थियो । 

विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयसमेत आवतजावत गर्ने गर्दछन् । यी सडक दुई लेन भइ कालोपत्र सम्पन्न भएपछि तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यस सडक कालोपत्रे भएदेखि आवश्यकताअनुसार समय समयमा मर्मतसम्भार हुन नसक्दा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । दुई लेनको सडक भएमा सडक दुर्घटना कम हुने स्थानीयको अपेक्षा रहेको छ ।