न्युयोर्क, जुलाई १ गते । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ । इजरायली नाकाबन्दीका कारण मार्च र जुनको बिचमा यो दर दोब्बर भएको एजेन्सीले जनाएको छ ।
बुधबार विज्ञप्तिमा ५७ प्रतिशत आवश्यक चिकित्सा आपूर्ति समाप्त भएको जनाउँदै युएनआरडब्लुएले चिकित्सा क्षेत्रले संसाधनहरूको गम्भीर अभावको सामना गरिरहेको जनाएको छ । एजेन्सीले बालबालिकाहरू उनीहरूको आँखामुनि मरिरहेको चेतावनी दिँदै उनीहरूको उपचारका लागि चिकित्सा आपूर्ति वा दिगो खानाको अभाव रहेको बताएको छ ।
नाकाबन्दीले रक्तचाप, एन्टी-परजीवी र एन्टी-फङ्गल उपचार, आँखा सङ्क्रमण उपचार, छाला उपचार र वयस्कहरूका लागि मौखिक एन्टिबायोटिकहरूका लागि औषधीहरूको पूर्ण अभाव निम्त्याएको छ । युएनआरडब्लुएले गाजामा सेवाहरू प्रदान गर्न जारी राख्नु झन् झन् कठिन हुँदै गएको कुरामा जोड दिएको छ ।
जनवरी १९ देखि सुरु भएको दुई महिनाको युद्धविरामपछि इजरायलले मार्च १८ देखि गाजाविरुद्ध आफ्नो सैन्य अभियान पुनः सुरु गरेको छ । इजरायली सेनाले गाजा पट्टीभरका विभिन्न क्षेत्रलाई लक्षित गरेर युद्धविरामको बारम्बार उल्लङ्घन गर्दा गाजाले अहिले अभूतपूर्व मानवीय विपत्तिको सामना गरिरहेको छ । रासस/क्युएनए