अविनाश चौधरी
धनगढी, साउन १ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको श्रावण एकमास शिव महापुराण धार्मिक मेला महा–महोत्सवको आज उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री शाहले बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने बताउनुभएको छ।
बेहडाबाबाको विकासका लागि प्रदेश सरकारले करिब १३ करोड बजेट विनियोजन गरेको शाहले बताउनुभयो। बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने शिवगङ्गा नदी पुल निर्माण ढिलाइ हुनुको कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर काम अगाडि बढाउनका लागि उहाँले आर्थिक मामिला राज्यमन्त्रीलाई निर्देशन पनि दिनुभएको छ।