• १ साउन २०८२, बिहिबार

मानव संरक्षणको कामना गर्दै सकियो 'असारे पर्व'

blog

‘असारे पर्व’को राैनक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, साउन १ गते । पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने सङ्क्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जिवित छ । 

ताराखोला गाउँपालिका वडा ४ र ५ का मगरहरुले आफ्नो बस्ती बसाइको मूलथलो तारा गाउँमा प्रत्येक वर्ष ‘असारे पर्व’ मनाउँदै आएको ताराखोलाका झकबहादुर घर्ती बताउनुहुन्छ । "वर्षा यामको कृषिकर्म सकेर असारे पर्व मनाइन्छ, असारे पर्वमा मुखियाको घरमा जमरा राखेपछि अन्य घरमा पनि जमरा राख्ने प्रचलन छ," घर्तिले भन्नुभयो ।

‘असारे पर्व’ परापूर्वकालमा त्यहाँ बालबालिकाको मृत्यु हुने गरेकोले धामीझाँक्रीलाई देखाउँदा ढुङ्गामा देवताको बास भएको र त्यस ढुङ्गामा राँगाको बलि दिई पूजा गरेपछि बालबालिकाको मृत्यु हुन छोडेको जनविश्वसका आधारमा पूजा गर्ने प्रचलन रहेको संस्कृतिकर्मी देवीलाल घर्तीले बताउनुभयो । हावापानीले बाली नष्ट नगर्ने विश्वासका साथ तारा गाउँमा असारमै ‘असारे पर्व’ मनाउने प्रचलन छ । ‘‘हिल र अर्गलमा भने साउने सङ्क्रान्तिमा ‘असारे पर्व’ मनाउने परम्परा छ,’’ संस्कृतिकर्मी घर्तिले भन्नुभयो । 

‘असारे पर्व’ मनाउन एक साता अघिदेखि जमरा राख्ने गरिन्छ । "वर्षा यामको खेती किसानी सक्ने वा काम नसकिएमा कामै रोकेर ताराखोला ४ र ५ का मगरहरु भेला भएर अर्घासी मगरको मूल अधीनमा रही तारा गाउँमा बुढापाकाहरुले देवताको प्रतीक ढुङ्गामा राँगाको बलि दिएर जमरा अक्षताले पुज्ने गर्छन् । युवाले पिङ लगाउने गर्छन् । पिङ लगाइसकेपछि युवतीहरुले खाजा तयार गर्छन्," संस्कृतिकर्मी घर्तीले भन्नुभयाे, "बुढापाकाले पिङमा जमराअक्षेता चढाउँछन् । मुलीले पिङ खेलेपछि मात्र अन्यले पिङ खेल्छन् । खाजा खाँदै बुढापाका र युवायुवतीहरु स्थानीय झ्याउरे, असारे गीतमा नाचगान गरेर रमाइलो गर्छन् । बलि दिएको राँगाको मासु देवतालाई चढाउने र सामूहिक भोजन गरेपछि ‘असारे पर्व’ विधिवत् रुपमा सम्पन्न हुन्छ।"


‘असारे पर्व’ सम्पन्न भए पनि त्यसको सम्वर्धन, विकास र संस्कृति संरक्षणसँगै खेलकुद र कला संस्कृतिको विकास गर्ने उद्येश्यले तारागाउँको करिमेलामा असारे युवा क्लबको आयोजनामा खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु हुन्छ । असार २४ गतेबाट सुरु भएको असारे मेला २९ गतेसम्म पुरुष तथा महिला भलिबल, धनुषवाण, छेलो, लोकनृत्य प्रतियोगिता आयोजना गरी सकिएको क्लबका उपाध्यक्ष नारायण घर्तीले बताउनुभयो । 

तारागाउँमा असारे पर्व सकिए पनि हिलमा असार ३० गतेबाट सुरु भएको छ । अर्गलमा साउन १ गते साराको रुखमा पिङ हालेर नाचगान गरी असारे मनाउने प्रचलन छ ।