निशा राई
धरान, साउन १ गते । धरान उपमहानगरपालिका–१४, पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ ।
बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्किले बोलबम पूजाको उद्घाटन गर्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने बोलबम पूजामा भक्तजनहरूको धेरै भिडभाड हुने भएकाले सोही अनुसार पिण्डेश्वर बाबाधाममा व्यवस्था मिलाइएको मन्दिरको समितिले जनाएको छ ।
धरान–१४, विजयपुर डाँडामा अवस्थित शिव भगवानको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सप्तकोशी नदीको जल ल्याई बेलपत्रसहित जल चढाउनले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । खासगरी पहिला खाली खुट्टा वराहक्षेत्र नगरपालिका स्थित सप्तकोशि नदीबाट पैदल हिँडेर जल ल्याउने प्रचलन रहेकोले हाल पनि कतिपय भक्तजनहरू पैदल हिँडेर आई जल सहित बेलपत्र शिव लिङ्गमा चढाउने गर्दछन् ।
पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित हुने गर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहित युवतीहरूले राम्रो पति पाऊँ भन्दै शिवलिङ्गमा जलसहित बेलपत्र चढाउने गर्दछन् । खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रूपमा मान्ने गरिन्छ ।
सोमबारको दिन ब्रत बस्ने तथा शिव मन्दिर पुगेर पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास समेत रहिआएको छ । वैदिक र पौराणिक कालमा समेत ऋषि मुनि र भगवानहरूले महादेवलाई शान्त प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता रहेको छ ।
सप्तकोशी नदीमा स्नान गरी जल भरि हजारौंको सङ्ख्यामा पिण्डेस्वरी बाबाधाममा जल चढाउनेको भिड रहेको हुन्छ । साउन महिना भगवान् शिवको प्रिय महिनाको रूपमा मानिन्छ । साउन महिनामा भगवान् शिवलाई जल, बेलपत्र, लगायत शिवलिङ्गमा अर्पण गर्नाले भगवान शिव प्रसन्न हुने पनि धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
साउनभरि पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न भक्तजनहरूको भिड हुने गर्दछ । भक्तजनहरूको सुविधाका लागि सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र भक्तजनहरूलाई ओतको समेत व्यवस्था गरेको समितिले जनाएको छ ।