जीवछ यादव
लहान, साउन १ गते । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा मजदुरीकै भरमा गुजारा गर्ने लहान–१० गुदीगाउँका मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ । खुटी खोलामा बालुवा गिटी निकासी बन्द भएको छ भने अर्कोतर्फ वर्षा नहुँदा खेतीपातीको काम ठप्प भएपछि दिनहुँ मजदुरी गरेर गुजारा गर्ने मजदुरहरुको जीवन कष्टकर बन्दै गएको हो ।
नौ महिना खुटी खोलामा बालुवा गिटी चालेर गुजारा गर्ने स्थानीय श्रीदेव पासवानले भन्दै असारदेखि असोजसम्म तीन महिना खोला बन्द हुँदा कृषि मजदुरी गरेर गुजारा गर्ने यस गुँदीगाउँका १३० घर परिवार दलित मजदुर सुकुम्वासीहरुको बस्तीमा हातमुख जोर्ने समस्या उत्पन्न भएको पीडा सुनाउनुभयो ।
विशुद्ध मजदुरी गर्ने यस गुदीगाउँका स्थानीयहरुलाई असार महिनामा वर्षा नहुने वर्ष कष्टमा नै जीवन बिताउनुपर्ने नियति नै भएको अर्का स्थानीय सरिता पासवानले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, "साउन १ गते लाग्यो वर्षा नहुँदा कृषि मजदुरको रुपमा काम गर्न किसानहरु काममा खटाएकाे छैन । असार महिना अलिअलि बालुवा गिटी चालेर जोगाएको रकमबाट हातमुख जोरियाे । साउन लोगेपछि समस्या विकराल हुँदै गएको छ । साहु महाजनले पनि ऋणकर्जा दिँदैनन् । गुदीगाउँका सुकुम्वासी बस्तीमा ठूलै विपति आइपुगेको छ ।"
खुटीको निारामा रहेको गुदीगाउँ मजदुरहरुको बस्ती भएकोले दिन कमाउने रात खाने यस बस्तीमा रोजगारबाट वञ्चित भएकाहरुलाई तत्कालै राहत दिइनुपर्ने स्थानीय भूपेन्द्र पासवानले भन्दै यतिबेला रोगी विबिमी भएका मजदुरहरुको परिवारमा त झन् बिजोग हुने गरेको बताउनुभयो ।
गुदीगाउँका सुकुम्वासीहरुलाई बाँच्ने आधार खुटी खोला मात्रै भएकोले रोजगारीको लागि अन्य विकल्पको खोजी गर्ने विषय कसैको ध्यानमा नपरेकोले असार त जसोतसो कट्यो साउन र भदौ कसरी गुजारा गर्ने चिन्ताले सताएपछि दिनभरि गाउँकै मध्यभागमा रहेको हनुमान मन्दिरमा बसेर समय काटिरहेको स्थानीयहरुले पीडा सुनाउनुभयो ।
यस वर्ष साउन १ गते लाग्दा पनि वर्षा नहुँदा मजदुर सुकुमवासीहरुको बस्तीमा समस्या हुनु स्वाभाविकै भएको दलित जनकल्याण युवा क्लव र गााउँमै रहेको श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश विसुन्केल भन्दै यस्ता बस्तीहरुको लागि स्थानीय प्रदेश सरकारबाट राहत कोषको व्वयस्था हुनुपर्नेमा त्यस्तो नहुनु चिन्ताको विषय भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘दलित जनकल्याण युवा क्लवको पहलमा यस गाउँका मजदुर सुकुम्वासीहरुलाई खानेपानीको प्रबन्धको लागि धारा जडान विद्यालयमा बालबालिकालाई पढाउन दलित छात्रवृत्ति र तीन समूहमा दैनिक ज्यालाबाट सात दिनमा ५० रुपियाँ जम्मा गर्ने व्यवस्था मिलाएका छौं । अहिले साउन र भदौमा दुई महिना खानेपानीको शुल्क समेत मिनाहा भएको बाहेक छाक टार्न आइपर्ने समस्या समाधानको लागि राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुलाई झकझकाउने काम गरिरहेका छौं ।’
अत्यन्तै गरिबीको कारण गाउँमा माध्यमिक विद्यालयसम्मको पढाइ भए पनि एसइइसम्म मुश्किलले पढने, नियमित विद्यालय नगई ट्याक्टरमा मजदुरको रुपमा काम गर्ने उच्च शिक्षासम्म पढाइ नगर्ने समस्या रहेको दलित अभियानमा लाग्नुभएकी राजकुमारी पासवानले समस्या सुनाउनुभयो ।