• १ साउन २०८२, बिहिबार

जिल्ला अदालत नवलपरासीमा मुद्दाको चाप घट्दै

blog

विकास अधिकारी 
पश्चिम नवलपरासी, साउन १ गते ।
जिल्ला अदालत पश्चिम नवलपरासीले दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्ने रणनीति अनुसार काम अघि बढाएको छ । गत आर्थिक वर्षमा ३१ वटा दुई वर्ष नाघेका मुद्दा रहेकोमा चालु आर्थिक वर्षमा १६ वटा मात्र छ । मुद्दाको  फर्छ्याेट प्रतिशतमा समेत विगतका वर्षको तुलनामा वृद्धि भएको अदालतका स्रेस्तेदार जानकीरमण यादवले बताउनुभयो ।

अघिल्ला आर्थिक वर्षहरुमा ५० भन्दा बढि मुद्दा दुई वर्ष नाघेका मात्रै म्याद सरेर अर्को आर्थिक वर्षमा जाने गरेको थियो । अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा एक वर्षको अवधिमा दर्ता भएका कुल ३ हजार ५ सय ५६ मुद्दामध्ये २ हजार ४ सय ४६ वटा मुद्दा  फर्छ्याेट भएको छ भने १ हजार १ सय १० वटा मुद्दा फर्छ्याेट हुन बाँकी छ ।

कुल मुद्दाको ६८ दशमलव ७८ प्रतिशत  फर्छ्याेट गर्न अदालत सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कुल मुद्दाको ६० प्रतिशत मात्र  फर्छ्याेट भएका थिए ।

पछिल्लो चार आर्थिक वर्षमा क्रमश मुद्दाको  फर्छ्याेट दरमा वृद्धि हुदै गएको अदालतको तथ्याङ्कले देखाउँछ । नागरिकलाई अदालतबाट छिटो छरितो रुपमा न्याय निरुपण होस् भन्ने उद्देश्यले लामो समयसम्म फैसला हुन नसकेका मुद्दालाई प्राथमिकता दिएर किनारा लगाउँदै लगिएको जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीले बताउनुभयो ।

अदालती कामकारवाहीलाई चुस्तदुरुस्त, निष्पक्ष र छिटोछरितो बनाउन प्रविधिको सक्दो उपयोग गरिएको बताउँदै कार्यसम्पादनमा न्यायाधीश तथा कर्मचारीहरूको सरुवाले पनि असर गरेको बताउनुभयो ।