हरिकृष्ण ऐडी
मुगु, साउन १ गते । मुगुको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।
डिभिजन वन कार्यालय मुगु मुगुका कार्यालय प्रमुख ललितकुमार कर्णले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो ।
उक्त परिमाणको यार्सागुम्बा निकासीबाट आठ लाख १२ हजार दुई सय ६८ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्लाबाट यार्सा निकासीका लागि प्रतिकिलो ३१ हजार दस्तुर लिने गरिएको छ ।
जिल्लाको माथिल्लो मुगु कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ ।
स्थानीय यार्सागुम्बा व्यापारी कार्माटोर्ची लामाका अनुसार यहाँका धेरै पाटनमा यार्सागुम्बा पाउने भए पनि मुगुगाउँको वन क्षेत्रमा पर्ने ठुलोकोइकी पाटनबाट सङ्कलन गरिन्छ ।
मुगु मकार्मारोङ गाउँ पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि करिब पाच हजार जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अनुमतिपत्र बिना बहुमूल्य जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै पाटनतर्फ जान दिइने गरिएको लामाले बताउनुभयो ।
मुगुमकार्मारोङ गाउँ पालिकाको व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै पाटन जान पाउने प्रावधान छ । सोहीअनुरूप यार्सागुम्बा सङ्कलनका निम्ति सिरानी चौडमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।
जिल्लाको माथिल्लो मुगुमा यार्सागुम्बा सङ्कलनका लागि जेठ १५ देखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।