• १ साउन २०८२, बिहिबार

धरान–चतरा सडकमा तीन पुल निर्माण

blog

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडकखण्डमा निर्माण गरिएको पुल ।तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, साउन १ गते । धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ । 

बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण अन्तर्गत पुल निर्माण भइरहेका हुन् । पुल निर्माणमा खटिएको सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला, बगुवाखोला र ठकुरीखोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बर्खामा धरान–चतरा सडकखण्डको बाघखोला तर्दा मानवीय क्षति हुँदै आएको थियो । पुल निर्माण भएसँगै भोजपुर, खोटाङ, उदयपुरका स्थानीय स्वाथ्य, शिक्षाका लागि र कृषि उपज बिव्रmीवितरण गर्न धरान बजार पुग्न सहज हुने छ । स्थानीय सन्तोष गुप्ता भन्नुहुन्छ, “पुल नहुँदा यहाँका बासिन्दाले बर्सांैदेखि सास्ती खेप्दै आएका थिए । अब भने केही सहज हुने विश्वास छ ।”

सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला पुलको काम ९५ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै बगुवाखोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरीखोलामा निर्माणाधीन ३५ मिटरको पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । रेलवे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्ने भएकाले सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम नहुँदा काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । 

चार वटा पक्की पुल निर्माणका लागि कम्पनीले भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर २०७९ साल जेठमा निर्माण सुरु गरेको थियो । पुलको छेउ छेउमा फिनिसिङको काम मात्रै बाँकी रहे पनि अहिले तिनै वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकको छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ कार्य रोकिएको छ । रुख व्यवस्थापन भएपछि बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताइएको छ ।