राधाकृष्ण डुम्रे
वालिङ, साउन १ गते । स्याङ्जाको वालिङ नगरपालिका–१२ की सीता थापाले गाउँमा फालिएको बाँझो जमिन भाडामा लिएर व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती सुरु गर्नुभएको छ । बसाईसराइँले गाउँ नै खाली हुन थालेको अवस्थामा थापाले त्यसै रहेको जग्गाको सदुपयोग गर्नुभएको हो ।
गाउँमा रहेको आफ्नो २० रोपनी जग्गामा ५० रोपनी जग्गा भाडामा लिएर ५० हजार अकबरे खुर्सानीको बिरुवा लगाउनुभएको छ । बिरुवा बढाएर ७० हजार पुर्याउने उहाँको योजना रहेको छ । अहिले रहेको ७० रोपनी जग्गामा ३५ रोपनी थप्ने उहाँको योजना छ ।
२०८० सालमा छहरेखोला कृषि तथा पशुपालन फार्म दर्तागरे बसाइँ सरी गएका स्थानीयको जग्गा प्रयोग गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “बसाई सरेर गएपछि उनीहरुको जग्गा यसै झाडी बनेर रहेको थियो न्यूनतम भाडा दिने गरी मैले लिएकी हुँ ।”
२२ घरधुरी रहेका गाउँका १५ घर खाली छन् उनीहरुले आफ्नो खेतबारी चटककै छोडेर अन्य ठाउँमा बसाइँ सरेका हुन् । उनीहरुको खाली जग्गामा थापाले काम गर्न सुरु गर्नु भएको हो ।
अन्य खेती गर्दा बाँदर तथा जङ्गली जनावरले क्षति पुर्याउने भए पछि खुर्सानी खेती गर्न सुरु गरेको उहाँको भनाइ छ । पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र वालिङ नगरपालिका लगायतले सहयोग गर्न सुरु गरेको थापाले जानकारी दिनुभयो ।
सानै उमेरमा बुवाआमा गुमाउनु भएकी २९ वर्षीय थापा अविवाहित हुनु हुन्छ । उहाँले भन्नुभयो, “परिवारमा एक्लै छु तर बिदेशको मोह अन्यत्र जाने योजना त्यागेर स्वदेशमै बसेर कृषि उद्यमी बन्ने सपना बुनेकी छु ।”
पछिल्लो समय वैदेशिक रोजगारीको मोहले बाझो रहेको जमीनको सदुपयोग गर्दै आउनुभएकी सिताले उत्पादित कृषि उपजको बजारीकरणको लागि राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । उत्पादन गर्न त सकिन्छ तर बजारको समस्या हुने हो की भन्ने चिन्ताले सताउँछ उहाँले थप्नुभयो ।
बजारीकरणको लागि काठमाडौँको कालीमाटी तरकारी बजार तथा अन्य फर्महरुसँग सम्पर्क गरिरहेको थापाले जानकारी दिनुभयो ।