• ३२ असार २०८२, बुधबार

कालीगण्डकी तटमार्गमा सधैँ पहिरोकै त्रास

blog

तटमार्गकाे गरगरेमा गएको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास(गुल्मी), असार ३२ गते । कालीगण्डकी तटमार्गमा सधैँ पहिरोको त्रास मात्रै हुने गरेको छ । 

गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्वर २ को गरगरे भीर र वडा नम्वर ६ को बरल्वामा पानी पर्दा वा चर्को घाम लाग्दा सडक माथिबाट ठुलो चट्टानसहित पहिरो खस्ने गरेका कारण सडक अवरुद्ध हुँदै आएकोे छ । यस स्थानमा अहिले मात्रै नभइ विगतका वर्षदेखिनै पहिरोको समस्या झेल्न बाध्य भएका छन् तटमार्गमा  यात्रा गर्ने यात्रुहरु । 

बुटवल पुर्तिघाट सधैँ यात्रा गर्ने सवारी चालक रामु पाण्डेले उक्त स्थान पार नगरेसम्म कतिबेला पहिरो खसेर सडक अवरुद्ध हुन्छ भन्ने चिन्ताले सताउने गरेको गुनासो गर्नुभयो । कालीगण्डकी तटमार्गमा  यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो । 

यस्तै, कालीगण्डकी गाउँपालिका १ का सवारी चालक गगन तरामुले पनि यस क्षेत्रको यात्रा निकै पीडादायी हुने गरेको बताउनुभयो । मिर्मी देउराली गर्दा पटकपटक यस क्षेत्रको पहिरोबाट ज्यान बचाउन सफल भएको उहाँले बताउनुभयो । यस क्षेत्रमा पानी पर्दा पनि र चर्को घाम लाग्दा पनि पहिरो खस्ने जोखिम रहेकाले यसको समाधान नखोज्दासम्म सधै समस्या रहिरहने उहाँको तर्क छ । उक्त स्थान सधैँका लागि रोगी भएकाले समयमै यसको उपचार खोज्नुपर्नेमा  अन्य सवारी चालकसँगै सवारी धनि र सरोकारवालाले सुझाव दिएका छन् ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले गरगरे भिर रोगी भएकाले पहिरो रोकथामका लागि उपयुक्त विधि खोज्नुपर्नेमा जोड दिनुभयो । पानी परे लगत्तै उक्त स्थान सुरक्षित नभएकाले सम्बन्धित कार्यालयसँग आफूले समन्वय गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

यता कालीगण्डकी तटमार्ग गैंडाकोट, राम्दी, मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार उक्त स्थानको पहिरोका लागि अध्ययन गर्न सम्बन्धित निकायमा लेखी पठाएको बताउनुभयो । गरगरेसहित कालीगण्डकी तटमार्गमा करिब १० वटा पहिरोको अध्ययन गर्नुपर्ने भएकाले विभागमा लेखी पठाएको र आगामी आर्थिक वर्षमा काम हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

कालीगण्डकी तटमार्गको गुल्मी रिडीदेखी बलेवासम्मको भीरमा नेपाली सेनाले पाँच वर्ष अघि बम विस्फोट गराएर ट्रयाक खोलेको थियो ।