• ३२ असार २०८२, बुधबार

धनगढी रङ्गाएका ‘पेन्टर राजेश’ कोहलपुर रङ्गाउँदै

blog

कोहलपुरस्थित भ्यू टावरको भित्तामा चित्रहरु बनाउनुहुँदै पेन्टर राजेश परियार । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असार ३२ गते ।
कुनै समय पेन्टर राजेश परियारका लागि नेपालगन्जमा काम गर्न भ्याइनभ्याइ थियो । दिनरात लगाएर वाल पेन्टिङ, साइनबोर्ड लेखाइ लगायतका पेन्टिङसम्बन्धी काम उहाँको पसलमा ओइरिने गर्दथ्यो । नेपालगन्जको धम्बोझी चोकमा रहेको उहाँको ‘राजेश आर्ट’ २०४७ देखि २०५० सम्म नाम चलेको आर्ट पसलमध्येमा पर्दथ्यो ।

हाल नेपालगन्ज उपमहानगरपालिका– १ बसोबास गरिरहेका राजेशको स्थायी घर भने साविकको पाताभार गाविस– ३ बर्दियामा थियो । ५० वर्षीय राजेश भन्नुहुन्छ, “गाउँकै स्कुलमा ८ कक्षासम्म पढेँ, कक्षा ८ पास भइसकेपछि धनगढी पुगेँ, त्यहाँ दाजुले जागिर गर्नुहुन्थ्यो, मेरो आर्टिस्ट बन्ने सानैदेखिको इच्छा थियो, स्कुल पढ्दाताका नै मैले धेरै चित्र बनाउँथे, धनगढी पुगेपछि आफ्नो इच्छाअनुसार आर्टिस्टको काम सिक्न सुरु गरेँ ।”

राजेशले पढाइभन्दा पनि आफ्नो इच्छालाई रोजेको बताउनुहुन्छ । “पढाइतिर भन्दा पनि त्यतिखेर मलाई आफ्नो इच्छाअनुसारको काम सिक्न र गर्न मन लाग्यो, एक वर्ष धनगढी काम सिकेपछि भारतको अलिगढ पुगेँ, त्यहाँ दुई वर्षजति ठुला ठुला आर्टिस्टहरुसँग काम हेर्ने र सिक्ने गरेँ, २०४६ सालमा घर फर्केँ ।” राजेशले भन्नुभयो, “नेपालगन्ज आएर त्यतिबेला खुबै चलेको ‘प्रकाश आर्ट’मा एक वर्ष काम गरेँ, त्यतिबेला आर्टका पसलहरु खुबै चलेका थिए, २०४७ सालमा आफैँले ‘राजेश आर्ट’ सुरु गरेँ, काम सिकिसकेको थिएँ, प्रशस्तै काम आउँथ्यो, त्यतिबेला नेपालगन्जमा ७–८ वटा आर्टसम्बन्धी पसल थिए होलान् ।”

“५० सालसम्म काम राम्रै चलेको थियो, कमाइ पनि थियो, त्यसपछि भने बिस्तारै काम हुन छाड्यो, भाडासम्म तिर्न पनि मुश्किल हुन थाल्यो, त्यसपछि पसल छाडेँ, अरु आर्टको हालत पनि त्यस्तै थियो, म काम छाडेर रोजगारीका लागि कतार पुगेँ ।” राजेश भन्नुहुन्छ, “दुई वर्ष त्यहाँ काम गरेर नेपाल फर्केँ, यहाँ आएर पुनः पेन्टिङ पेसामा फर्किन मन लागेन, कहिले होटल खोलेँ, कहिले के गरेँ यस्तैमा ७–८ वर्ष बिताएँ, घरखर्च चलाउन मुश्किल परेपछि फेरि जोर्डन पुगेँ, त्यहाँ एक वर्षमात्र काम गरेँ, भनेजस्तो नभएपछि २०६४ मा फेरि नेपाल फर्केँ ।”

नेपाल फर्केर उहाँ २–४ वर्ष बिनाकाम बस्नुपरेको बताउहुन्छ । “मेरो जीवनमा धेरै उतारचढाव आयो, म स्थिर हुन सकिनँ, एक वर्षपछि फेरि रोजगारीका लागि साउदी पुगेँ, त्यहाँ पनि भनेको जस्तो भएन र देश फर्केँ, यहाँ आएर केही वर्ष सिमेन्ट उद्योगको मुनिम भएर काम गरेँ, तबसम्म नेपालमा आर्टिस्ट र पेन्टिङसम्बन्धी नयाँ प्रविधि भित्रिसकेको थियो, पुराना आर्ट पसलहरु बन्द भइसकेका थिए ।” उहाँले भन्नुभयो ।

“मैले पढाइ छाडिछाडी सिकेको सिपलाई प्रयोग गर्न नसकेर, आफूसँगै भएको सिपलाई सही सदुपयोग गर्न नसकेर यत्रो वर्ष भौँतारिएँ, उमेर बिताएँ, पैसा कमाउन सकिनँ, २०६७ सालमा आएर बल्ल मेरो बुद्धि फिर्‍यो र पुनः म आफ्नो कर्ममा फर्किएँ ।” राजेशले भन्नुभयो, “त्यसयता मलाई पछाडि फर्किएर हेर्न परेको छैन, काम आइरहेको छ, कमाइ पनि राम्रै भइरहेको छ, चारजनाको परिवारलाई आरामसँग पालिरहेको छु ।”

पेन्टर राजेशलाई चित्र बनाउन, पेन्टिङ गर्न अहिले नेपालगन्ज मात्रै नभएर बाहिरबाट समेत बोलावट हुने गरेको छ । गत वर्ष उहाँले एक वर्ष धनगढीमा बसेर धनगढी रङ्गाउनुभयो । “गत वर्ष धनगढी एक वर्ष बसेर त्यहाँका भित्ताहरु विभिन्न चित्रले रङ्गाएँ, मानिसहरु अहिले कम्मरमा हात राखेर आफूले बनाएको चित्र हेर्दै फोटो खिचाएको देख्दा मनमा आनन्द हुन्छ, अहिले कोहलपुर नगर विकास समितिमार्फत न्यूरोडमा रहेको भ्यू टावरमा विभिन्न विभूति, नेपालको नक्सा, राष्ट्रिय झण्डा, चराहरु, कोहलपुर चिनाउने सांस्कृतिक तथा सामुदायिक चित्रहरु बनाइरहेको छु ।”

\पेन्टिङकै कमाइबाट राजेशले अहिले नेपालगन्जमा आफ्नै घर बनाउनुभएको छ । एक छोरा नेपालगन्जमै रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बिटेक इन सिभिल इन्जिनियरिङमा अध्ययन गर्दैछन् भने सानी छोरी भने नेपालगन्जकै सोफिया इङ्लिस मिडियम स्कुलमा नर्सरीमा पढ्दैछिन् ।

“जेठो छोरो अहिले स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्दैछन्, उनलाई कहिल्यै पेन्टिङप्रति रुचि नै भएन र मैले जबर्जस्ती गरिनँ पनि तर सानी छोरी नर्सरीमा पढ्दैछिन्, उनले साह्रै इच्छा गर्छिन् चित्र बनाउन, जतिबेला पनि उनी चित्र बनाउने र मलाई सिकाउन आग्रह गर्छिन् सायद छोरीलाई यसप्रति रुचि छ ।” उहाँले भन्नुभयो, “१२ वर्षपछि खोलो पनि फर्किन्छ भनेजस्तै म आफैँभित्र भएको सिपलाई समयमै चिन्न नसक्दा बेक्कार थुप्रो वर्ष खेर गयो, अहिले यसै पेसाले पुनः मेरो जीवनमा रङ ल्याएको छ, विद्यालयका भित्ताहरु र सार्वजनिक स्थलका भित्ताहरुमा चित्र बनाउँदैमा दिनहरु बितेका छन्, अत्यन्तै खुसी छु पेसाप्रति ।”