अर्जुन कार्की
काठेखोला (बागलुङ), असार ३२ गते । मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् । विकास निर्माण र वातावरण संरक्षणबिच समन्वय कायम गर्न स्थानीय तहसँग भू तथा जलाधर व्यवस्थापन कार्यालय पर्वतले मङ्गलबार आयोजना गरेको समन्वय गोष्ठीमा बोल्ने वक्ताहरुले पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बढ्नुमा मानवीय लापरवाही रहेको बताएका हुन् । ‘‘विकासका नाममा लापरवाही गरिरहेका छौं,’’ उहाँहरुले भन्नुभयो, ‘‘सानो लापरवाहीको कारण भूक्षयका घटना बढिरहेका छन् ।’’
सरोकारवालाहरुले मानवीय कारणले वातावरणीय प्रभाव बढिरहेको बताउँदै वायुप्रदूषणका घटना कम गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले मानवीय लापरवाहीका कारण भूक्षय र प्राकृतिक प्रकोपका घटना बढिरहेको बताउनुभयो । उहाँले मनाङ र मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रहरुमा पनि वातावरणीय प्रभावका कारण विनाशकारी घटनाहरु बढेको उल्लेख गर्दै साना कामको समेत दीर्घकालीन असर पर्ने भएकाले सचेत रहन सवैमा आग्रह गर्नुभयो ।
सडक छेउछाउ र पहिरो गएको ठाउँमा वृक्षारोपरण गर्नुपर्ने सांसद थापाको भनाइ छ । ‘‘सडक छेउमा नाली सफा नगर्दा र ढलको उचित व्यवस्थापन नगर्दा बस्तीमा क्षति पुर्याउने खतरा रहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘अम्रेसो तथा अन्य वनस्पतिको वृक्षारोपणमार्फत सडक संरक्षण गर्न सकिन्छ ।’’ सांसद थापाले उच्च भूभाग तथा वनको धुरीमा रिचार्जिङ पोखरी निर्माण गरी पानीको दीर्घकालीन संरक्षण गर्न सकिने सुझाव समेत दिनुभयो ।
सांसद थापाले अव्यवस्थित सडक निर्माणको कारण बागलुङमाा पछिल्लोसमय बाढी पहिरोका घटना बढिरहेको बताउनुभयो । उहाँले केही साता पहिले जैमिनी नगरपालिकामा बाढीको कारण ठुलो क्षेत्रफलमा रहेको खेत बगरमा परिणत भएको बताउँदै बाढी आउनुमा सडक निर्माण कारणतत्व रहेको बताउनुभयो ।
जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले भू तथा जलाधरको व्यवस्थापन नगरे भयावह अवस्था आउन सक्ने चेतावनी दिनुभयो । विकास निर्माणको नाममा सडक निर्माणमा सक्रियता देखाइए पनि वातावरण संरक्षणमा कमजोरी रहेको भन्दै सबै स्थानीय तह र सम्बन्धित निकायहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरप्रमुख पुनले नर्सरी, पोखरी, चौपारी तथा पानी संरक्षणका कार्यहरूमा स्थानीय तह र भू तथा जलाधर कार्यालयबीच साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी कार्यालय र स्थानीय तहहरुले साझेदारी गरेर स्थानीयलाई जागरुक गराउँदै भूक्षयका घटना कम गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो ।
भू तथा जलाधर व्यवस्थापन कार्यालयका प्रमुख शम्भु कुमार मिश्रले वातावरणीय दृष्टिले सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो । उहाँले पोखरी निर्माण गर्दा ढलान नगरी स्थानीय सामग्री प्रयोग गर्नुपर्ने, कंक्रिटको सट्टा ढुङ्गा प्रयोग गरेर पानी रिचार्जिङ्गको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
पहिरो गएको स्थानमा तारजाली नभई वृक्षारोपण गर्नु र सडक पाखोमा बायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा बागलुङ जिल्लामा ४६ वटा योजना सञ्चालन गरेकोमा ४३ योजना सम्पन्न भइसकेको जानकारी गराइएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा बागलुङ जिल्लामा प्रदेश सरकारबाट ३२ र संघ सरकारबाट चार वटा योजना रहेको प्रमुख मिश्रले जानकारी दिनुभयो ।