• ३२ असार २०८२, बुधबार

गाउँ चिनाउने गीत

blog

सन्तोष सुवेदी

कास्की, असार ३२ गते ।  साढे एक दशकअघि नेपाली सङ्गीत बजारमा चलेको गीत हो, ‘क्या राम्रो स्याउ बारी मार्फ गाँवैमा ।’ म्युजिक भिडियोसमेत निर्माण गरिएको र नाच्न मिल्ने गरी सङ्गीत भरिएको सो गीत चाडपर्व र विद्यालयमा हुने नृत्य प्रतियोगितामा बिरलै छुट्थ्यो । मुस्ताङको मार्फ गाउँको सुन्दरता र स्थान विशेषमा आधारित रहेको गीत वसन्ती लालचनले लेख्नुभएको हो । उहाँले रचना गरेका गाउँ परिवेश गीत अझै पनि उत्तिकै लोकप्रिय छन् । 

मुस्ताङको थकाली गाउँ मार्फा स्याउका लागि प्रख्यात मानिन्छ । उक्त गीतबाट गाउँका थकाली नेपालमा मात्र नभएर संसारभर पुगेका छन् । त्यो बेला उक्त गीतको क्यासेट (चक्का) नै बेचेर लालचनले ११ लाख रुपियाँ जति कमाउनुभएको थियो । लालचनले रचना गरेको ‘घान्द्रुककी ठिटी म त’  गीतबाट पनि घान्द्रुकको परिवेश चिनाइएको छ । 

निर्देशक गोरे गुरुङले पछि कास्कीबाट लमजुङको दिलुङ गाउँ र कास्कीकै याङ्जाकोटबाट गाउँका गीत बनाउन सुरु भएको भन्दै स्थानीय प्रचारका लागि गाउँका गीत बन्न थालेको बताउनुभयो । “गीतले गाउँको वर्णन गरी पर्यटन प्रवर्धन भएको छ । गाउँको प्रचारमा गीतले प्रभावकारी भूमिका खेलेको पाइन्छ,” उहाँले भन्नुभयो । थुप्रै गाउँ झल्काउने गीत निर्देशन गर्नुभएकी जसु गुरुङ पर्यटन प्रवर्धनका लागि नै गाउँका गीत बन्ने गरेको बताउनुहुन्छ । “गीतबाट गाउँलाई सहज रूपमा चिन्न सकिने भएको छ । मनोरञ्जनका माध्यमबाट पछिल्लो समय गाउँलाई चिनाउने कार्य बढ्दो छ,” उहाँले भन्नुभयो । गाउँको परिवेशका गीत अहिले रेडियो, टेलिभिजनमा बजिरहन्छन् । ‘सिक्लेसैको मेलैमा, दुर्लुङ गाउँ, सुनाखरी सुनगाभा गुराँस जस्तो जोवन साट्न आउनु धम्पुसमा हिमाल जस्तो जोवन, मेरो प्यारो रापाकोट’ लगायत टेलिभिजनमा बढी बज्ने गीत हुन् ।

धम्पुस, घान्दु्रक, रूपाताल, तप्राङ, आर्थर, भदौरे, भाचोक, लान्द्रक, ताङतिङ, सिक्लेस, खुँदी, गल्याम, ल्वाङ, याङ्जाकोट, स्याक्लुङकोटलगायतका थुप्रै गाउँका गीत बनिसकेका छन् । गाउँका गीत बन्नुपर्ने गीतकार टेकनारायण चापागाईं बताउनुहुन्छ । “स्थानीय कला, संस्कृति डिजिटल मार्केटमा चिनाउनका लागि गीत बन्न थालेका छन् । गाउँका गीतले सङ्गीतमा पनि नयाँ आयाम थपेको छ । गीत बन्नु राम्रो पक्ष मान्नु पर्छ,” उहाँले भन्नुभयो । उहाँले हालसम्म एक दर्जनभन्दा बढी गाउँका गीत सिर्जना गर्नुभएको छ । आफूले गाउँको गीत लेख्दा त्यहाँको सांस्कृतिक अवस्था, प्राकृतिक सुन्दरता तथा मानवीय भावना एवं चालचलनलाई पनि प्रतिविम्बित गर्ने कोसिस गरेको उहाँको भनाइ छ । पर्यटन प्रवर्धन गर्न यस्ता गीत सहायक बन्ने उहाँको धारणा छ । गीतले गाउँको प्रचारमा प्रभावकारी भूमिका खेलेपछि अहिले देशैभर गाउँका गीत गाउने लहर नै चलेको उहाँको विश्लेषण छ । “आफ्नो गाउँलाई स्वदेशदेखि विदेशसम्म चिनाउनका लागि गीत बनाउने गरेको पाइन्छ । गाउँलाई चिनाउने सजिलो माध्यम भनेको पछिल्लो समयमा गीत बनेको छ,” उहाँले भन्नुभयो ।