काठमाडाैँ, असार ३१ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताउनुभयो । उहाँले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गर्नुभयो । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको बताउनुभयो ।
जलविद्युत् आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडले चाँडै शेयर निष्कासन गर्ने बताउनुभयाे । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पति भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘अहिले उत्पादन विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ । शेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने छ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ । उर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण नेपालको प्रकृतिले दिएको सम्पति हो । ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रिन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताउनु भयो । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको बताउनुभयो ।