• २७ असार २०८२, शुक्रबार

पत्रकार दर्नाललाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान

blog

काठमाडौँ,  असार २७ गते ।  सरकारले पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार-२०८१’ वितरण समारोह कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सो पुरस्कार प्रदान गर्नुभएको हो । 

पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१ सहित) को दफा ४ को उपदफा (२) बमोजिमको मूल्याङ्कन तालिकाका आधारमा अधिकतम अङ्क प्राप्त गर्नुहुने राष्ट्रिय समाचार समिति (रासस)कर्मी दर्नाललाई सो पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारको राशि रु. ५० हजार छ । पत्रकार दर्नाल विगत डेढ दशकदेखि राससमा आबद्ध हुनुहुन्छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार दर्नाललाई युवा जागरण, श्रमको सम्मान र सकारात्मक सोच प्रवर्द्धन तथा सामाजिक विकृति, विसङ्गति, विभेद न्यूनीकरण, सामाजिक सद्भाव र शान्ति निर्माणका सवालमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्‍याएबापत सो पुरस्कार प्रदान गरेको हो । 

मन्त्रालयले युवा विकासका सवालमा उपलब्ध अवसर र सम्भावना उजागर गरेको, युवा उद्यमशीलता विकास, रोजगारी÷स्वरोजगारीका सवालमा पत्रकारितामार्फत योगदान पुर्‍याएको, पत्रकारिताको माध्यमबाट विशेष प्राथमिकताका समूहका युवाको विकासमा क्रियाशील रहेको, युवा पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहेको र दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट युवा विकासको क्षेत्रमा क्रियाशील रहेको विषयलाई पनि पुरस्कारको मूल्याङ्कनको आधार मानेको थियो । 

पत्रकार दर्नालसँगै मन्त्रालयले कान्तिपुरकर्मीद्वय प्रकृति दाहाल र गगनशीला खड्का र अन्नपूर्ण पोष्टकर्मी ममता थापालाई पनि पुरस्कार प्रदान गरेको छ । 

खेदकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित ‘युवा पत्रकारिता पुरस्कार’ छनोट समितिले पुरस्कारको छनोट गरेको हो । समितिको सदस्यमा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द शिवाकोटी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ममता बाँस्तोला, खेलकुद मन्त्रालयका उपसचिव सुरेन्द्रकुमार बज्राचार्य (समितिको सदस्यसचिव) र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र नेपाल पत्रकार महासङ्घका सचिव रमेश खतिवडा रहनुभएको थियो ।  रासस