• २० कात्तिक २०८१, मङ्गलबार

असुरक्षित गुरुवर्ग

blog

राष्ट्रलाई र अझ विश्वलाई नै हाँक्ने जनशक्ति, ज्ञान, प्रविधि र संस्कृति निर्माण गर्ने प्राध्यापकहरू आ–आफ्नो क्षेत्रका विज्ञ हुन् । गुरु चेलाका माझी हुन् र रोलमोडेल पनि हुन्  । भनिन्छ नै, ‘गुरुअनुसार चेला’ ! शिक्षकका पदचाप प्रत्यक्ष रूपमा विद्यार्थीले र अप्रत्यक्ष रूपमा पूरै समाजले पछ्याउँछन् ।

पछिल्ला अध्ययनले देखाएका छन्, शिक्षक सन्तुष्टि, तिनलाई दिइएको सम्मान र शिक्षण प्रशिक्षणको प्रभावकारिताबीच प्रत्यक्ष सम्बन्ध छ । जसरी हीनताबोध लिएर युद्धमा जाने सेना युद्ध जित्न सक्दैन, त्यसैगरी उच्च मनोभावको अभावमा शिक्षक गुरु वा ‘मास्टर’ बन्न सक्दैनन्, विद्यार्थीलाई दिशा दिन सक्दैनन् ।  

भारतमा गरिएको आफ्नो अध्ययनको आधारमा रेड्डेम्मा र सुधाकर रेड्डी इन्टरनेसनल जर्नल अफ करेन्ट रिसर्चको सन् २०१७ अङ्कमा लेख्छन्–सन्तुष्ट शिक्षकले आफ्नो काममा प्रभावकारिता प्रदर्शन गर्न सके भने असन्तुष्ट शिक्षकले सकेनन् ।

पाकिस्तानमा गरिएको अध्ययनका आधारमा सन् २०२२ मा डा. मुहम्मद असगर अली, सेराह साकिर र डा. फौजिया तबस्सुम पाकिस्तान सोसियल साइन्सेस रिभ्यूमा लेख्छन्, “शिक्षकको सामाजिक स्थिति र विद्यार्थीको सिकाइबीच प्रस्ट सकारात्मक सम्बन्ध देखियो ।” 

परम्परादेखि गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर, परब्रह्म र पितासरह आदर गर्ने नेपाली समाज पछिल्लो समयमा बदलिएको छ । उसो त ‘आधुनिक’ नेपाली मातापिता र परब्रह्मप्रति पनि अभद्र, अमर्यादित र कठोर हुँदै छन् । नागरिक स्वतन्त्रताको अधिकार प्रयोगका नाममा हालै दुई दशक उमेर नपुगेको एक युवकले आमाविरुद्ध निवेदन हाल्नु र मिडियामा आउनु एक प्रतिनिधि घटना मात्र हो ।

कोही आस्तिक नहोस्, तर तिनको कतै कसैमाथि आस्था र भरोसा हुन आवश्यक छ । सबैभन्दा बलियो योद्धा आफ्नो सेनाप्रमुखको आदेश उल्लङ्घन गर्दैन । शक्तिशाली देशका बलिया तानाशाह मातृभूमि, धर्म, गुरु र परिवारजनको वचन उल्लङ्घन गर्न हच्किन्छन् । अरू त अरू, घरपालुवा मत्ता हात्ती पनि माउतेको काबुमा बस्छ । 

मर्यादा र सम्मानको कुरा छाडौँ, हाम्रा प्राध्यापकमाथि विद्यार्थीको ‘भौतिक कारबाही’समेत हुन थालेको छ । विद्यार्थी समूहका नाममा धेरै अभद्र व्यवहार भएका छन् । २०६४ सालमा त्रिविका उपकुलपति माधवप्रसाद शर्मालाई कालोमोसो दलियो । २०७७ साल वैशाखमा परिवारका सदस्यसँग आफ्नै सवारीसाधनमा रहेका बेला पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मामाथि काठमाडौँमा मोसो दलियो । विद्यार्थीले नै २०७१ सालमा शिक्षाध्यक्ष गुणनिधि न्यौपाने चढेको गाडी र २०७३ सालमा शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडी जलाए ।

समूहकै नाममा विद्यार्थीले २०७६ मंसिरमा त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि  हातपात गरे ।  २०७७ असोजमा त्रिवि केन्द्रीय परिसर समाजशास्त्र विभागअगाडि उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरे । क्याम्पसको छाप दुरुपयोगको आरोप लागेका विद्यार्थीले यही २०७९ जेठ २२ गते अमृत क्याम्पस (अस्कल) प्रशासनमा तालाबन्दी गर्दै उपप्राध्यापक दिवाकर पाण्डेमाथि हातपात गरे ।

पशुपति बहुमुखी क्याम्पसका पूर्वप्रमुख विष्णुप्रसाद पन्तलाई उनको निवासमै र कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख गोविन्दबहादुर कार्कीलाई चिया खाइरहेको स्थानमै गएर विद्यार्थीले कालोमोसो दले । यस्ता हातपात, आगजनी, तोडफोड र तालाबन्दीको फेहरिस्त लामो छ । यस्तो विकृति मौलाउनुका धेरै थरी कारण होलान् । व्यक्तिगत रिसइबी, तत्कालीन परिस्थितिजन्य आवेग र दुर्घटनात्मक हातपात वा दुव्र्यवहार अर्कै कुरा हुन् । ठूलो चिन्ता त्यति बेला हुन्छ जब विद्यार्थी सङ्गठन योजनाबद्ध रूपमा शिक्षकविरुद्ध दुव्र्यवहार गर्छन्, राज्य दोषीलाई सजाय गर्न र पीडितलाई न्याय दिन असमर्थ हुन्छ । 

अधिकांश घटनामा अपराधी देशको कानुनले तोकेको सजाय पनि नभोगी उम्किन्छन् । मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ बमोजिम ‘कसैलाई अभद्र व्यवहार गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय’ वा दफा १९१ बमोजिम ‘कुटपिट गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय’ हुन सक्ने व्यवस्थाको कार्यान्वयन पक्ष कमजोर रहेको छ ।

यहाँसम्म कि घटनामा संलग्न विद्यार्थी सङ्गठनलाई विश्वासमा लिने उद्देश्यले बेला–बेलामा हाम्रा सरकार मुद्दा फिर्ता लिनेसम्मको कसरतमा लाग्छन् । हाम्रा धेरै प्राध्यापक सङ्गठनहरू दलीय वा वैचारिक निकटतामा चल्छन्, यहाँसम्म कि वैचारिक निकटतारूपी अन्धताले उनीहरू विवेक गुमाउँछन्, सही गलत छुट्याउन अस्वीकार गर्छन् र सहकर्मी शिक्षक कुटिनुलाई अनदेखा गर्छन् । दलीय वा वैचारिक निकटताकै बीचमा पनि स्वास्थ्यकर्मी पेसागत मुद्दामा एकजुट छन्, दबाब दिई सरकारलाई अध्यादेशमार्फत ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ संशोधन अध्यादेश जारी गर्न बाध्य पारेका छन् । 

यही २०७९ वैशाखमा जारी अध्यादेशले ‘जेल विथआउट बेल’ अर्थात् धरौटीमा रिहा नहुने व्यवस्थालाई थप कडा बनाएको छ । अध्यादेश भन्छ, “स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पु-याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रूपमा चोट पु-याउने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ ।”

बिरामीको ज्यान गएको अवस्थामा आफन्तले होस गुमाई वा उत्तेजित भई स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नुभन्दा पनि ठूलो अपराध विद्यार्थी सङ्गठनको नाममा शिक्षकमाथि हुने दुव्र्यवहार हो । शिक्षकको गल्ती हुँदैन वा उनीहरूलाई सजाय दिन हुँदैन भन्ने होइन ।

गल्ती ठहरिए स्वास्थ्यकर्मीले जस्तै शिक्षकले पनि सजाय पाउनुपर्छ, पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्छ तर हाम्रा प्राध्यापक सङ्गठनहरूले अहिले उठाउनुपर्ने सवाल शिक्षक सुरक्षा हो । शिक्षकमाथि हुने सबैखाले र विशेष गरी विद्यार्थी सङ्गठनका नाममा हुने भौतिक आक्रमणविरुद्ध कानुनी व्यवस्था अति आवश्यक छ । यसतर्फ प्राध्यापकहरूको ध्यान जान ढिलो भइसकेको छ । 

अन्य पेसाकर्मीजस्तै प्राध्यापक पनि व्यक्तिगत रूपमा कुनै दल वा विचारप्रति नजिक हुन सक्छन् । पेसागत मर्यादाभित्र रहेसम्म शिक्षकमाथि कसैले औँला ठड्याउन गाह्रो हुन्छ । प्राध्यापक सङ्गठनहरूले जतिसुकै वैचारिक निकटता रहे पनि पेसागत मर्यादाको प्रतिकूल हुनेगरी सामूहिक र व्यक्तिगत रूपमा समेत राजनीतिक दलका गोटी नबन्ने आचारसंहिता जाहेर गर्न र सो पालना गर्न आवश्यक छ  । 

शिक्षकहरू बारम्बार विद्यार्थी सङ्गठनको कारबाहीमा पर्नुको एउटा कारण दलीय नेतृत्वमा शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी र समाजका अन्य तप्का सम्मिलित स्वार्थ समूहको उपस्थिति पनि हो । यस्ता स्वार्थ समूह आफ्नो फाइदामा शिक्षक र विद्यार्थीलाई पदीय, पेसागत, प्राज्ञिक र शैक्षिक मर्यादा नाघ्न र गलत तरिका अपनाउन उक्साउँछन् ।  कालान्तरमा फोहोरी खेलले धेरैलाई तान्न पुग्छ र त्यस्ता स्वार्थ समूहमा जोडिएका शिक्षक पनि सिकार बन्न पुग्छन् । यसर्थ, विद्यार्थीसितको सम्बन्धलाई विशुद्ध शैक्षिक तथा प्राज्ञिक तहमै सीमित राख्नेतिर ध्यान जान आवश्यक छ । 

शिक्षकलाई आर्थिक सन्तुष्टि दिन नसकिनु परिस्थितिजन्य पक्ष हो । शिक्षक समाजका सम्पत्ति हुन् भन्ने चेत नहुनु अर्को पक्ष हो । यिनको सुरक्षा र जतन गर्नु सिङ्गै समाजको दायित्व हो । देशकै व्यवस्थापनको जिम्मा लिएको सरकारले सम्पूर्ण जनताको जस्तै शिक्षक सुरक्षाको जिम्मा लिनैपर्छ  ।

साना कक्षाका कलिला विद्यार्थीले हातपात गरेको भए आलोकाँचो बुद्धि सम्झेर क्षमा दिन मिल्थ्यो, देशै हाँक्न कस्सिएका सङ्गठित विद्यार्थीका नाममा निहत्था शिक्षकमाथि अभद्र व्यवहार गर्नेलाई कानुनअनुसार कारबाही गर्ने कुरामा कसैले अवरोध गर्न मिल्दैन । प्राध्यापक सङ्गठनहरू सहकर्मीको इज्जत र सुरक्षाका लागि जुट्नुपर्छ, विवेकी जनसमुदायले साथ दिनुपर्छ, सरकार शिक्षक सुरक्षाप्रति जिम्मेवार हुनपर्छ र आवश्यक परे कडा कानुन निर्माणमा लाग्नुपर्छ 

Author

प्रा.डा. बालमुकुन्द रेग्मी