काठमाडौँ, असार ५ गते । भक्तपुरको सल्लाघारीका रुख कति पुराना हुन् भनी अनुमान गर्न सक्नुहुन्छ ? वैज्ञानिक अनुसन्धानले ती सल्लाका रुख पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा रोपिएको प्रमाणित गरेको छ ।
रुखको काण्डमा हुने घेराका आधारमा वर्ष यकिन गर्ने गरिन्छ ।वृक्ष चक्र विज्ञानबाट रुखको उमेर पत्ता लगाउने प्रविधि विश्वभरि नै प्रचलनमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का प्राज्ञ डा. दिनेशराज भुजूसहितको समूहले सो प्रविधि प्रयोग गरी उपत्यकाका सल्लामा अनुसन्धान गरेको छ ।
पर्यावरणविद् डा. भुजूले अनुसन्धानबाट भक्तपुर सल्लाघारीका रुख १९२७ सालमा रोपिएको पत्ता लागेको बताउँदै भन्नुभयो, “ती बिरुवा कहाँबाट ल्याई किन रोपियो भन्न सकिएन तर खाली जग्गा भएकाले त्यहाँ रोपिएको हुन सक्छ ।”
रोपिएका रुख प्राकृतिक रूपमा उम्रिएकाजस्तो नभई, निश्चित दूरीमा हुन्छन् भने एकै उमेर र आकारका रुख हुने गर्छन् । सिंहदरबारभित्रको बरफवाग, थापाथलीको कुमारी मन्दिर, लैनचौरस्थित ब्रिटिस दूतावास, केशरमहल, चोभारलगायतका स्थानमा सल्ला रोपिएका थिए । उहाँले थापाथलीको कुमारी मन्दिरका सल्लाका रुख पनि जङ्गबहादुरकै पालामा अर्थात् १९३० सालमा रोपिएको बताउनुभयो ।
सल्लाघारीमा घुम्दा स्वच्छ हावा पाइन्छ । यसको बास्ना पनि मीठो हुन्छ, रुख पनि सुरिलो हुन्छ र हावा चल्दाको सुसेली पनि बडो आनन्दको हुन्छ ।
हाल भवन निर्माण गर्न कुमारी मन्दिरका रुख काटिएको छ । कुनै बेला थापाथलीको सिंहमहल परिसरमा कुमारी मन्दिर पथ्र्याे । सो दरबार जङ्गबहादुरको भएकाले त्यो बेला दरबार परिसरभित्र थुप्रै खोटो सल्लाको रुख रोपिएको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै सिंहदरबारस्थित बरफवागका सल्लाका रुख १९५७ सालमा रोपिएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यो बेला सिंहदरबारको निर्माण सुरु भइसकेको थिएन । नेपालका खोटो सल्लाका रुखको आयुबारे अनुसन्धान नभएको बताउँदै उहाँले भन्नुभयो, “ती कतिन्जेल बाँच्छन् यसै भन्न सकिँदैन ।”
सिंहदरबारको अग्रतर्फ अर्थात् पश्चिममा विभिन्न जातका रुख त्यो बेलादेखि नै रोपिएका थिए । बडेमानका अजिङ ठडिएका ती रुख दुर्घटना हुन सक्ने भन्दै काटिएको छ । अहिले फलकमलका पुराना केही रुख देख्न पाइन्छ ।
नेपालमा खोटो र गोब्रे सल्लाको रुख पाइन्छ । खोटे सल्लामा तीनवटा सुइरा हुन्छन् भने गोब्रे सल्लामा पाँचवटा सुइरा हुन्छन् । “दक्षिणकालीबाट हेटौँडा जाँदा पर्ने खोटो सल्लाको जङ्गल प्राकृतिक हो,” प्राज्ञ डा. भुजूले भन्नुभयो, “सल्लाघारीमा घुम्दा स्वच्छ हावा पाइन्छ भनिन्छ । यसको बास्ना पनि मीठो हुन्छ, रुख पनि सुरिलो हुन्छ र हावा चल्दाको सुसेली पनि बडो आनन्दको हुन्छ । सम्भवतः यिनै कारणले सल्ला रोप्ने चलन भएको हुनुपर्छ ।”
मल्लकालीन समयदेखि नै घर र मन्दिरमा सल्लाका रुख प्रयोग गर्ने चलन पनि थियो । भक्तपुरको न्यातपोल मन्दिरमा प्रयोग भएका रुख सल्लाकै हुन् । हाल पुनर्निर्माणक्रममा केशरमहललगायतका दरबारमा पनि सल्लाका काठलाई दलिनका रूपमा प्रयोग गर्ने गरिएको फेलापरेको छ ।
अनुसन्धानक्रममा बरफवागका सल्लाका रुखको मोटाइ वृद्धिदर प्रतिवर्ष ३.१९ सेन्टिमिटर र भक्तपुर सल्लाघारीका रुखको मोटाइ प्रतिवर्ष ३.३१ सेन्टिमिटर रहेको तथ्य फेलापरेको थियो । बरफवागका सल्लाका रुखको मोटाइभन्दा भक्तपुर सल्लाघारीका रुखको मोटाइ बढी र भक्तपुरका सल्लाका रुखको घेराभन्दा ब्रिटिस दूतावासभित्रका रुखका मोटाइ बढी भएको पाइएको थियो ।
ब्रिटिस दूतावासभित्रका रुख करिब ६५ वर्षअघि मात्र रोपिएका हुन् । “मलजल बढी पाएमा वा जलवायुका कारण रुखको मोटाइ फरक हुने देखियो । उमेरले मात्र मोटाइ बढी हुन्छ भन्ने कुरालाई अनुसन्धानले गलत साबित गरिदिएको छ,” उहाँले भन्नुभयो ।
स्वयम्भूमा रहेका खोटो सल्लाका रुख पनि रोपिएका हुन् । ती धेरै पुराना होइनन् । चिलाउनेका रुख मर्न थालेपछि खाली भएका स्थानमा खोटो सल्लाका बिरुवा ल्याई रोपिएका थिए । इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार सिंहदरबार निर्माण गर्दा छरिया जङ्गलबाट रुख कटाएर ल्याइएको थियो ।