• १० मंसिर २०८१, सोमबार

मेलम्ची विपत् नदोहोरियोस्

blog

गत वर्ष असार १ र साउन १६ गते आएको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भयो । यो बाढीले कैयौँ घर, खेत, जग्गा जमिन बगायो भने बाटाघाटा, पुल पुलेसादेखि अन्य धेरै भौतिक क्षति भयो । मेलम्ची नगरपालिका क्षेत्रमा मात्रै करिब १५ हजार रोपनी जमिन क्षति भयो भने यसले लगभग २१५ परिवार विस्थापित बनायो । यसको बढी प्रभाव हेलम्बु गाउँपालिकामा प-यो । पाँचपोखरी गाउँपालिकामा समेत मानवीय क्षति भयो । धेरै मानिस सम्पर्कविहीन भए । मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठजना मजदुर, तीन भारतीय, तीन चिनियाँ र दुईजना नेपाली नागरिक बेपत्ता भए ।

बाढीले हेलम्बु र मेलम्चीको सर्वनाश मात्र गरेन काठमाडौँ उपत्यकामा गरिने पानी आपूर्तिको समस्यालाई समेत विकराल बनायो । बाढीसँगै आएको ठूलो परिमाणको गेगरानको बहावले समस्या झनै बढायो । मेलम्ची नदीसँगै गत वर्ष इन्द्रावती नदीमा आएको बाढीले थप समस्या सिर्जना ग-यो । दुवै नदी जोडिएको दोभानमा जमेको बालुवा र लेदोको कारण मेलम्ची बजार क्षतविक्षत भयो । धेरै घर अहिले पनि पुरिएका छन् । खनी खोस्री गरेर सामान्य मर्मत गरी चलाएका तथा थातबास गरिएका घर यो वर्षामा झनै विकराल अवस्थामा जाने पूर्वानुमान गरिएको छ । 

यो वर्षको मनसुन सुरु भइसकेको छ । यसको असर र प्रभावबाट बच्न बचाउन पूर्वसावधानी अपनाउनु आवश्यक छ । नेपालका उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको अध्ययन आवश्यक भएको छ । पाँचपोखरी र हेलम्बुको हिमाली क्षेत्रको वातावरण संरक्षण र भूक्षय रोकिएमा मात्र मेलम्ची पनि बच्न सक्ने भएकाले मेलम्ची नगरपालिकाले आसपासका गाउँपालिकासँग सहकार्य गर्नगराउन आवश्यक छ । 

कहालीलाग्दो बाढीको कारण तथा प्रभावबारे अध्ययन गरिरहेका विज्ञहरू उक्त विपत् केवल २०७८ सालको वर्षा वा केही महिनामा विकसित परिस्थितिबाट उत्पन्न नभएको सङ्केत पाइएको निष्कर्षमा पुगेका छन् । उनीहरूले त्यसको कारण पत्ता लगाउन लामो समयअघिको भौगर्भिक अवस्थिति र घटनाक्रमको अध्ययन र मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

खासगरी उच्च हिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको छ । त्यसमा आइरहेका परिवर्तनसँग यस्तो ठूलो विपत्को आकार जोडिएको छ । सो कार्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ व्यक्तिहरू, त्यस प्रकारको जनशक्ति तथा ठूलो रकमको आवश्यकता पर्नेे हुनाले यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने देखिन्छ । सो काम सम्पन्न गर्न हेलम्बु, पाँचपोखरी, ईन्द्रावती र मेलम्चीले कार्यस्थलमा सहयोग गर्न आवश्यक छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय महìव बोकेको मेलम्ची खानेपानीको आपूर्तिले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सेवा पुग्ने भएकाले उपत्यकाका तीनवटै जिल्लाका सबै नगरपालिका र महानगरपालिकासँग पनि सहकार्य गर्न सकेमा आर्थिक तथा अन्य सहयोग सजिलै जुटाउन सकिनेछ । 

अब के गर्ने ?

ठूला पूर्वाधार निर्माणका बेला भौगर्भिक अवस्था र विपत्को वैज्ञानिक खोज अनुसन्धानका आधारमा पूर्वानुमान गर्ने । भुस्खलन, बाढी, पहिरो र गेगरानको अवस्था र स्रोतमा पुगेर अध्ययन गर्ने । जोखिमयुक्त महìवपूर्ण क्षेत्रको कम्तीमा चार हजार मिटरमाथिको क्षेत्रसम्म वर्षाको मापन गर्ने मापदण्ड बनाई सोको विवरण वर्षा याममा स्थानीय तह, सम्बन्धित शाखा महाशाखा र सुरक्षा निकाय तथा विपत् व्यवस्थापनका निकायमा स्वचालित रूपमा पु-याउने । सदियौँ वर्षअघि देखिको अवस्थामा हिमनदी बहावको अवस्था पहिल्याउँदै अब भावी दिनमा यसले पार्न सक्ने क्षतिको अध्ययन गर्नुपर्ने र गेगरान कहाँकहाँ जम्मा भएर बसेका छन् भन्ने पत्ता लगाउने ।

केवल एक मात्र कारणले मेलम्चीको यो भयावह अवस्था आएको होइन । मेलम्ची बाढीमा जोडिएको एकभन्दा धेरै कारणको खोजी र संयुक्त निराकणका लागि आवश्यक कार्य गर्ने । हिमताल विस्फोट, सक्रिय पुराना पहिरो, नयाँ पहिरो बनेका अनि किनारामा भूक्षय सुरु हुँदा नदीको प्रवाह रोकिएको अवस्थाका कारण आउने समस्या समाधानको पूर्वतयारी गर्ने ।

सिसी क्यामेरा, सिसीटिभी, भूउपग्रह, रेनगेज आदिबाट सङ्कलित तस्बिर र परैबाट विवरण सङ्कलन गर्ने अन्य विधिका आधारमा स्थलगत विवरण प्राप्त गरी प्रभावकारी कार्यान्वयनका उपाय अपनाउने । २०७२ को भूकम्पको सम्बन्ध यो पहिरोसँग कति छ भन्ने विषयमा अध्ययन गरी आवश्यक तयारी गर्ने । अन्तरसम्बन्धित अन्य प्रकोपका कारणको समेत आवश्यक उपचार गर्ने ।

पुरिएको मेलम्ची बजार क्षेत्रलगायत हेलम्बुको चनौटे र अन्य तटीय क्षेत्रको सुरक्षाका लागि हालको खोलामा थुप्रेर बसेको बालुवा, गिटी र गेगरेनलाई टिप्पर, ट्रक, स्केभेटरको प्रयोग गरी नदीबाट झिक्ने । झिकेको सामग्री नगरपालिकाका सबै वडाका हिलो र असजिलो सडक तथा गोरेटो र मोटरेबल बाटोमा पुर्ने । पुर्नु अगाडि पानीको निकासको व्यवस्था गर्न सकेमा बाह्रैमहिना बाह्रैकाल मोटरेबल सडक बनाउन सकिन्छ । यसो गर्दा नदी गहिराइ बडेर जाने हुँदा बजार क्षेत्र र तटीय क्षेत्र सुरक्षित हुन्छ भने सडक निर्माण र वर्षा याममा गाडी गुड्न सक्ने सडक तयार हुन्छ । केवल गाडी भाडा र इन्धनबाट खर्च पनि टर्छ । 

बाढीपहिरो बजार, बस्ती र खेती योग्य जमिनतिर नजाओस् भन्नका खतिर पानीले कटान गर्ने क्षेत्रको नियन्त्रणमा समेत ध्यान दिनु आवश्यक छ । यसो गर्न सकेमा नदीको पानी सिधै बस्ती र बजारमा सोझिँदैन र कम क्षति हुन सक्छ । मुसलधारे पानी नपरिकन पत्याइ नसक्ने अथाह माात्रामा लेदो लामो समय सम्म आइरहेको गत वर्षको अवस्थालाई हेर्दा यो पटक पनि सोही प्रकार र प्रकृतिको वातावरण सिर्जना भएमा के गर्ने भन्ने पूर्वतयारी गर्नुपर्छ ।

सूचना सञ्चार प्रवाहलाई विश्वासिलो बनाउन आवश्यक देखिएको छ । गत वर्ष बाढीको समयमा बलेफी र इन्द्रावती नदीमा बहाव बढेको र क्षति तत्तत् स्थानमा हुन सक्ने कुरा व्यापक हल्लामा आयो । सबै मानिसको ध्यान उतातिर गयो तर अन्तमा मेलम्चीमा बाढी आयो र मेलम्ची नदिले ठूलो क्षति पु¥यायो । सूचना संयन्त्रलाई विश्वासिलो, भरपर्दो र स्वचालित बनाउने । 

दिगो विकासको अवधारणा विपरीत जथाभावी विकास निर्माणका कार्यहरू हुने, धारो, पाटी, पौवा, भवन, सडक निर्माणजस्ता विषयले जमिनलाई अझै थङ्थिलो पारेकोले पनि भूक्षय बढेको हो । वातावरण मैत्री र दिगो विकासको पक्षलाई ध्यान दिन आवश्यक देखिएको छ । जमिनको सतह बिग्रने र जमिनमा भार थप हुने तर पृथ्वीको भारवहन क्षमता कम हुँदै जाने, पहाड धसिएर तल्लोपट्टि रहेको माटोको भाग बाहिर निस्किने हुन्छ । यसतर्फ सचेततापूर्वक काम गर्ने ।

विपत् पूर्व, विपत्को समय र विपत्पश्चात्का कार्य र प्रतिकार्यका लागि सदैव तम्तयार रहने, स्थानीय विपत् व्यवस्थान समिति, जिल्ला विपत् व्यवस्थापन समिति र सङ्घीय निकायलाई समन्वय गर्ने, समन्वयमा कार्यक्रम तयारी गर्ने र उच्च सतर्कता अपनाइ ठोस कार्यक्रम तय गर्ने । यो वर्ष नदी कटान रोक्न र क्षति कम गर्न आवश्यक छ ।

यसका लागि खोलामा जमेको लेदो, भासिएका रुख, काठ, निर्माण सामग्री, गाडी, पुल, जस्तापाता, फलामलगायतका अन्य वस्तुलाई चाँडै निकाल्ने । नदीको सतह गहिरो बनाई पानीको बहाव माथि आउन नदिन नदी र नदी किनारमा जमेर थुप्रिएर रहेको ढुङ्गा, माटो, गिटी, बालुवा र गेगर निकाल्ने र उक्त सामग्रीको विकास निर्माण तथा नगरपालिकाको आम्दानीका लागि सही सदुपयोग गर्ने ।

निष्कर्ष

विपत् व्यवस्थापन गर्दा मेलम्ची नदीसँगै सबै वडा र टोल तथा बस्तीका समस्या पत्ता लगाउने, विपत् र जोखिमको स्तर पहिचान गर्ने, सुरक्षा र व्यवस्थापनको कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने कार्य गर्न जरुरी छ । विपत् व्यवस्थापनका सवालमा, दिगो विकासका लागि र जनपरिचालन तथा अन्य कार्यका लागि कानुनले रोक्छ भने कानुन, ऐन, नियम, निर्देशिका, कार्यादेश परिपत्र तथा दिशानिर्देश गरी नीति नियम बनाउनुपर्छ । प्राकृतिक प्रकोप, बाढी पहिरोजस्ता विपत् व्यवस्थापनका लागि युवाहरू, विद्यार्थी, स्वयंसेवक दस्ता तयार गरी एकदम तम्तयार गर्न आवश्यक देखिन्छ । समन्वय र सहकार्यबाट विपत् न्यूनीकरण गर्न सकिन्छ । सभ्यताको विकास र प्रवद्र्धन गर्न तथा विपत् र विनाशबाट बच्न योजना निर्माण र सहकार्य आवश्यक छ ।

Author

लक्ष्मण श्रेष्ठ