नविन शिशिर
बागलुङ, असार ३ गते । पर्यटकको व्यवस्थित बसाइँका लागि बागलुङको काठेखोला गाउँपालिका –४ तंग्राममा सामुदायिक पाहुना घर सञ्चालनमा आएको छ । जनजाती बाहुल्य रहेको तंग्राम ठूलो गाउँमा वडा कार्यालयले पाहुना घर निर्माण गरेको हो ।
वडा कार्यालयले आर्थिक बर्ष २०७४–७५ देखि निर्माण कार्य सुरु गरेको थियो । करिव ३३ लाख रुपियाँमा पाहुना घर तयार भएको वडा सचिव प्रेम रिजालले जानकारी दिनुभयो । ठूलो गाउँमा पाहुना जाँदा उचित बस्ने ठाउँ नभएपछि वडा कार्यालयले भवन निर्माण गरेको पूर्व वडाध्यक्ष केवश थापाले बताउनुभयो । चार काठे पाहुना घरमा बाहिरबाट जाने अतिथिहरुलाई राखिने बताइएको छ ।
चालु आर्थिक बर्षको भवनको भित्रि तथा बाहिरी भागको साजसज्जा, विस्तारा व्यवस्थापन, बगैचा निर्माण र प्रवेशद्धार निर्माणको काम सम्पन्न भएको छ । यसै बर्षदेखि पाहुना घर सञ्चालनमा आएको सचिव रिजालको भनाई छ ।
बाहिरबाट पर्यटक आउँदा व्यवस्थित बसोबास र सत्कारका लागि पाहुना घर बनाएका हौँ । पाहुना घरमा हाल सुत्ने मात्र व्यवस्था छ । खाना पकाउने मिल्नेगरी व्यवस्थापन गर्ने योजना वडा कार्यालयको छ ।
पूर्व वडाध्यक्ष थापाले भन्नुभयो– “आमा समुहले यसलाई सञ्चालन गर्छ, छुट्टै कार्यविधि पनि बन्दैछ । पाहुना घरको नियमित सञ्चालन खर्च धान्नेगरी न्यून शुल्क लिनेगरी कार्यविधि बनाउन नयाँ वडा समितिलाई सल्लाह दिएका छौँ ।”
हाल वडा कार्यालयको मातहतमै निःशुल्क रुपमा पाहुना घरमा प्रयोग गर्न दिएको वडासचिव रिजालले बताउनुभयो । भवनको सरसफाई तथा अन्य व्यवस्थापनका लागि न्युनतम शुल्क लिने विषयमा छलफल भैरहेको छ । वडामा कर्मचारी आउँदासमेत गाउँमा खाना र बासको उचित व्यवस्थापन नहुँदा पाहुना घरको उपयोग गर्न सकिन्छ । पाहुना घरमा एकसाथ दश जना बस्नसक्ने व्यवस्था छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                