• ५ जेठ २०८१, शनिबार

सोलुखुम्बुमा विपद् प्रतिकार्यको तयारी

blog

विपद् प्रतिकार्यका लागि ‘डेमो’ प्रदर्शन गर्दै ।

सन्तोष राउत/सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, असार ३ गते ।
सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढीपहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको समन्वयमा नेपाली सेनाको टोलीले डेमो प्रदर्शन गरेका हुन् ।

वर्षायाम सुरु भएसँगै बाढीपहिरोका कारण हुने प्रभावितहरुको उद्धार र राहतका लागि जिल्लास्थित सुरक्षा निकायहरु बीच संयुक्त अभ्यास गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिनुभयो ।

विपदमा परेकाहरुको खोजी तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामग्रीको बन्दोबस्ती, सुरक्षा निकायसँगको समन्वय तथा परिचालनलगायतका विषयमा केन्द्रित रहेर पूर्वाभ्यास गरिएको उहाँको भनाइ छ ।


उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरुलाई समेत पूर्वाभ्यासले सहयोग पुग्ने र जनचेतानाका हिसाबले पनि यस्ता कार्यले मद्दत पुग्ने विश्वास लिएको उहाँको भनाइ छ । यस्ता विपदमा परेकाहरुको कसरी खोजी तथा उद्धार गर्ने भन्ने विषयमा गरिएका अभ्यासहरुले नागरिकहरुको समस्यामा उद्धार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस्ता विपदमा परेका नागरिकहरुको उद्धार र राहतमा नगरपालिकाले आवश्यक पर्ने सबै खाले सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–५ स्थित सोलुखोला छेउमा गरिएको डेमो प्रदर्शनमा निमित्त प्रजिअ लक्ष्मी भट्टराईसहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मी, अन्य राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीलगायतको उपस्थिति  थियो ।