• ५ जेठ २०८१, शनिबार

‘मर्जर’ दौडमा वाणिज्य बैङ्क

blog

काठमाडौँ, असार ३ गते । मर्जरकै इतिहासमा पहिलो ठूलो बैङ्क बनेको ग्लोबल आईएमईले पुरानो रेकर्डलाई यथावत् राख्ने भएको छ । बैङ्क अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेको ग्लोबल आईएमईले ठूलो बैङ्कको ताज बचाइराख्ने भएको हो ।

मर्जरपश्चात् बन्ने ‘ग्लोबल आईएमई बीओके’ले कुल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कुल निक्षेप तीन खर्ब ८४ अर्ब, कुल कर्जा तीन खर्ब ८० अर्ब रुपियाँसहित नेपालको सबैभन्दा ठूलो बैङ्क हुने भएको हो ।

एक साताअघि मात्र नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कले देशकै ठूलो बैङ्क बन्ने गरी सम्झौता गरेका थिए भने हाल सबैभन्दा ठूलो बैङ्कका रूपमा चिनिएको ग्लोबलले बीओकेसँग सम्झौता गरेर ठूलो बैङ्कको ताज जोगाउने भएको छ ।

मर्जरका लागि ग्लोबल आईएमई बैङ्कका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैङ्क अफ काठमाण्डूका तर्फबाट बैङ्कका अध्यक्ष प्रकाश श्रेष्ठले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । मर्जरपश्चात् बन्ने नयाँ बैङ्कको सञ्चालक समितिमा ग्लोबल आईएमई बैङ्कका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैङ्क अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ ।

त्यसैगरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमईका रत्नराज वज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आइएमई र बीओकेको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

एकै ठाउँमा २१ वटा

हालको सबभन्दा ठूलो बैङ्क ग्लोबल आईएमईमा अहिलेसम्म चारवटा ‘क’ वर्गका वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् । बीओके ग्लोबल आईएमईमा गाभिने पाँचौँ वाणिज्य बैङ्क बनेको छ ।

दुवै बैङ्कले जेठ मसान्तसम्म छ अर्ब रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैङ्कको ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशमा सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बीओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैङ्क हुने भएको छ ।

ग्लोबल आईएमई बैङ्कका अध्यक्ष ढकालले नेपालको बैङ्किङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताउँदै ग्लोबल आईएमई बैङ्क नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको बताउनुभयो । बैङ्क अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मर्ज हुनु प्राकृतिक प्रक्रिया भएको बताउनुभयो ।

‘नेपाल इन्भेस्टमेन्ट मेगा’ दोस्रो ठूलो

एक साताअघि आफैँमा ठूला वाणिज्य बैङ्क मेगा बैङ्क लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडले एकआपसमा मर्जर हुने भएपछि अहिलेसम्मकै दोस्रो ठूलो वाणिज्य बैङ्क बन्ने भएको छ । मर्जरपछि ‘नेपाल इन्भेस्टमेन्ट मेगा’ बैङ्कको नामबाट एकीकृत कारोबार गर्नेगरी दुवै बैङ्कले मर्जर सम्झौता गरेका थिए । मर्जर पछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क साढे ३४ अर्ब रुपियाँ चुक्ता पुँजी पुगेको छ ।

हिमालयनसँग टुट्यो, मेगासँग जोडियो

मर्जरका लागि सम्झौता भएदेखि नै मतभेद र विवाद देखिएको नेपाल इन्भेस्टमेन्ट बैङ्क र हिमालयन बैैङ्कबीचको मर्जर प्रक्रिया टुटेपछि पुनः इन्भेस्टमेन्ट र मेगाको मर्जर अगाडि बढेको हो । मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको आठ महिनापछि इन्भेस्टमेन्ट र हिमालयन बैङ्कको मर्जर प्रक्रिया टुुटेको थियो । 

वाणिज्य बैङ्कको सङ्ख्या २४ मा झर्दै

हाल २७ वटाको सङ्ख्यामा रहेका वाणिज्य बैङ्क अहिलेसम्मको मर्जर प्रक्रियामा रहेका बैङ्कको मर्जर सम्पन्न भएसँगै २४ वटामा झर्ने भएको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ वैशाख मसान्तसम्म कुल २४३ बैङ्क तथा वित्तीय संस्था मर्जर-प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाको इजाजत खारेज हुन गई ६६ संस्था कायम भएको छ ।

नबिल र एनबी पनि अगाडि बढ्दै

नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई एक्विजिसन गर्नेसम्बन्धी प्रक्रिया अगाडि बढाइसकेको छ । दुवै बैङ्कबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भइसकेको छ । 

दुवै बैङ्कले संयुक्त मर्जर-एक्विजिसनसम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरेबमोजिम पुुस २९ गते बिहीबार सम्पन्न दुवै बैङ्कको सञ्चालक समितिको संयुक्त बैठकबाट उक्त एक्विजिसन (प्राप्ति)सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

नबिलले एनबी बैङ्कलाई प्राप्ति गर्न भएको समझदारीपत्रअनुसार एनबीको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुनेगरी सेयर आदानप्रदान अनुपात कायम भएको दुवै बैङ्कले जनाएका छन् । नबिलले एनबी बैङ्क प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । एनबी बैङ्कलाई प्राप्तिपश्चात् नबिल बैङ्कको प्राथमिक पुँजी ४३ अर्ब र चुक्ता पुँजी २२.५ अर्ब रुपियाँ पुग्नेछ ।

अन्य बैङ्क पनि दौडमा

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले आफू मर्जरमा सहभागी नहुने राष्ट्र बैङ्कलाई बताइसकेको छ । इन्भेस्टमेन्ट बैङ्कसँग डिमर्जर गरेर अर्को पार्टनरको खोजीमा रहेको हिमालयन बैङ्कले आठ अर्ब ६४ करोड रुपियाँ चुक्ता पुँजी भएको सिभिल बैङ्कसँग छलफल गर्दै छ भने साधारण सभाबाटै मर्जरलाई प्राथमिकतामा राखेका अन्य बैङ्क पनि सुहाउँदो पार्टनरको खोजी गरिरहेका छन् । 

प्रभु, माछापुच्छे, सेन्चुरी कमर्सियल, सनराइज बैङ्क, सिटिजन्स इन्टरनेसनल, कुमारी, सिद्धार्थलगायतका बैङ्क पनि मर्जरका लागि राम्रो पार्टनरसँगको छलफलमा छन् । सेन्चुरी बैङ्कसँग छलफलमा रहेको माछापुच्छे बैङ्क फेरि प्रभु बैङ्कसँग छलफलमा रहेको छ ।

असारभित्र नगए सुविधा खोसिने

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरका लागि प्रक्रिया थाल्न वाणिज्य बैङ्कहरूका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिँदै तोकिएको अवधिभित्र मर्जर अगाडि नबढाए घोषणा गरिएका कुनै पनि सुविधा उपलब्ध नगराउने बताउँदै आउनुभएको छ ।

उहाँले २७ बैङ्कका अध्यक्ष र सञ्चालकलाई बोलाएरै तोकिएको अवधिमा मर्जरमा गए घोषणा गरिएको सुविधा उपलब्ध हुने अन्यथा नहुने बताउनुभएको थियो । गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमै मर्जरलाई प्राथमिकतामा राख्नुभएको थियो । मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको एक सर्वेक्षणबाट गरिएको राष्ट्र बैङ्कको अध्ययनले निष्कर्ष निकालेको छ ।

Author

भेषराज बेल्बासे