• १६ असार २०८२, सोमबार

जीवनभर मौरीपालन, घरमै आउँछ पैसा

blog

हिमाली गाउँपालिका–६, पाडीका मौरीपालक कृषक नरजित रावल मौरीको घार देखाउँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १६ गते । बाजुराको हिमाली गाउँपालिका–६, पाडीका अधिकांश स्थानीय बासिन्दा रोजगारीका लागि भारतका विभिन्न ठाउँ जाने गरेका छन् तर ८१ वर्षीय नरजित रावल पैसा कमाउनका लागि कहिल्यै पनि गाउँभन्दा बाहिर जानुपरेको छैन । 

१३ वर्षको उमेरदेखि ‘अर्गानिक’ मौरीपालन गर्दै आउनुभएका रावलले मौरीपालन गर्न थालेको झन्डै ६८ वर्ष पूरा भएको छ । काठेघारमा मौरीपालन गर्दा पनि पैसाका लागि उहाँ कहिल्यै घरबाहिर निस्कनु परेको छैन । रावलकहाँ नै पैसा लिएर मह किन्न आउनेको सङ्ख्या ठुलो छ । महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर उहाँले कपीमा टिपेर राख्नुहुन्छ ।

अर्गानिक महका लागि मह काढ्नुभन्दा पहिले नै उहाँलाई खरिदको प्रस्ताव आउँछ अनि त्यही मह बिक्री गरेर घरखर्च चलाउनुहुन्छ । मौरीपालनबाट अहिले वार्षिक १२ लाख रुपियाँभन्दा बढी आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँले आफ्ना सबै छोराछोरीलाई मौरीको मह बेचेर नै उच्च शिक्षा पढाउनुभएको छ ।  आफ्नै बुवाले सुरु गरेको मौरीपालनको तरिका सिकेर सानैदेखि यसमै लागेको उहाँ बताउनुहुन्छ । “म १३ वर्षको उमेरमा नै मौरीपालनमा लागेको हुँ । यसबाटै छोराछारीको पढाइखर्च धानेर सम्पत्तिसमेत जोडेको छु ।” उहाँको घरमा अहिले मौरीका एक सय घार छन् । यी घारबाट उहाँले वर्षको दुई पटक मह निकाल्नुहुन्छ । एउटा घारमा छ किलोग्रामसम्म मह उत्पादन हुने उहाँ बताउनुहुन्छ । सुरुमा गाउँमा मात्र मह बिक्री हुने भए पनि अहिले विदेशबाट समेत महको माग हुने उहाँले जानकारी दिनुभयो । 

रावल सुदूरपश्चिम प्रदेशकै एक उत्कृष्ट मौरीपालक पर्नु हुन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीले गत वर्ष सुदूरपश्चिमका सबै मौरीपालकहरूलाई बोलाएको एक कार्यक्रममा रावल प्रदेशकै सबैभन्दा उत्कृष्ट मौरीपालक घोषित हुनुभएको थियो । उहाँलाई अहिले मौरीको घार व्यवस्थापन गर्न निकै सकस भएको छ । उहाँ भन्नुहुन्छ, “मलाई अहिले आधुनिक खालको मौरीको घार चाहिएको थियो । यो पुरानो घार बनाउँदा धेरै पैसा लाग्छ । पहिला वनमा धेरै ठुला ठुला रुख हुन्थे । 

त्यति बेला घार बनाउन सहज हुन्थ्यो । अहिले वन सामुदायिक भएपछि रुख पनि काट्न मिल्दैन ।” मौरीको घार राख्नलाई समेत ठाउँको समस्या रहेको उहाँ बताउनुहुन्छ । “कतैबाट घार र घार व्यवस्थापनका लागि सहयोग आइदिए म सुदूरपश्चिमको होइन कि देशकै एक उत्कृष्ट मौरीपालक कृषक बन्थेँ र यो मेरो सिप पनि यहाँका धेरै युवालाई सिकाउने थिएँ,” रावल भन्नुहुन्छ । 

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसिराम साहनीले मौरीपालक कृषकलाई केही सहयोग गर्ने नीति प्रदेश सरकारको रहेको बताउनुभयो । “अनुदान दिनका लागि हामीले उत्कृष्ट कृषक छनोट गर्नु पर्छ । उहाँ हाम्रो छनोटमा पनि पर्नुभएको छ । यो वर्ष पनि हामी कृषक रावलको मौरीपालन व्यवस्थापन कार्यका लागि केही अनुदानको व्यवस्था मिलाउने तयारीमा छौँ,” उहाँले जानकारी दिनुभयो ।