गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १३ गते । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पिआर : पर्मानेन्ट रेसिडेन्ट’ को टिजर बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको छ । अस्ट्रेलियामा रहेको नेपाली डायस्पोराको कथा समेटिएको चलचित्रले स्थायी बसोबास अनुमतिपत्र (पिआर) पाउन विद्यार्थीले गरेको सङ्घर्षलाई चलचित्रमा उतारिएको छ ।
पिआरका लागि गाँसिएको सम्बन्धले परिवारमा ल्याउने कलहको कथा चलचित्रमा रहेको निर्देशक बस्नेतले बताउनुभयो । चलचित्रमा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गर्नुभएको छ । रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहनुभएको चलचित्रको पटकथा पनि निर्देशक बस्नेतले लेख्नुभएको हो ।
चलचित्र असारको अन्त्यबाट अस्ट्रेलिया र न्युजिल्यान्डमा एकसाथ र दसैँमा विश्वव्यापी प्रदर्शन गरिने जनाइएको छ । ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता, एसिया प्यासिफिक ई कलेजका गणेश केसी कार्यकारी निर्माता रहनुभएको चलचित्रमा मानस राजको सङ्गीत, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।