नवराज नेपाली
बागलुङ (गलकोट) असार ११ गते । काठेखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा (स्थान) छनोट टुङ्गो नलागेपछि कार्यपालिका सदस्यहरु बिच मतदान गरिए पनि दुई तिहाई बहुमत नआउँदा भवन बनाउने स्थानको अझै टुङ्गो लाग्न सकेन ।
गाउँपालिकाको १७ गाउँ सभापछिको मङ्गलबार सम्पन्न दोस्रो बैठकमा भवन निर्माणको विषयमा गोप्य मतदान गरिएको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो ।
मतदानबाट परिणाम नआएपछि यही असार १९ गतेलाई तेस्रो बैठक आह्वान गरिएको छ । ४३ जना कार्यपालिका सदस्य रहेकोमा ४० मत खसेको थियो भने अध्यक्षले मतदान गर्न नमिल्ने र दुई जनाको अनुपस्थित रहेका थियोे । काठेखोला गाउँपालिका–२ अक्षेतेमा निर्माण गरिनुपर्छ भन्नेमा १५ मत र काठेखोला गाउँपालिका–६ सुलडाँडाको आमपाटामा निर्माण गरिनु पर्छ भन्नेमा २५ मत खसेको थियो ।
मतदान प्रक्रियाबाट टुङ्गाउँदा दुई तिहाई पुर्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
मतदानका लागि गत आइतबार भएको कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीको संयोजकत्वमा प्रशासन शाखा प्रमुख मनोज कार्की र न्यायीक सहजकर्ता महेन्द्र प्रसाद कँडेल सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।
गाउँपालिका अध्यक्ष थापाले प्रक्रियागत रुपमै लगेर छिटै विवाद टुङ्गाइ प्रशासकीय भवन निर्माण गरिने बताउनुभयो । भवन निर्माणका लागि जग्गाको विषयमा विवाद हुँदा पालिकाले आफ्नो स्थापना कालदेखि मासिक ७० हजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।