सन्तोष सुवेदी
कास्की, असार ११ गते । पोखरालाई कलाको राजधानीका रूपमा लिइन्छ । पोखराले राष्ट्रियस्तरका धेरै कलाकार जन्माइसकेको छ । पोखरालाई कर्मथलो बनाएर कलाकारितामा लाग्नेको सङ्ख्या बाक्लै छ । त्यसमा पनि रङ्गमञ्चमा उभिएर कला देखाउने रहर धेरैमा देखिन्छ ।
विसं १९९५ मा तत्कालीन बडाहाकिम धनशमशेरले पोखराको मोहरिया टोलको दरबारमा नाटक मञ्चन गरेपछि औपचारिक रूपमा पोखरेलीमाझ नाटकको आरम्भ भएको मानिन्छ । धनशमशेरको नाटकप्रति चिन्तित स्वभावले पोखरामा नाटकको जग बसेको हो । अहिले पूर्ण रूपमा सञ्चालित भएको पोखरा थिएटरले समय समयमा पोखरेली दर्शकलाई नाटकको प्यास मेट्ने काम गरेको छ । यसै गरी वरिष्ठ रङ्गकर्मी अनुप बरालले पनि पोखरामा हंशध्वनि थिएटर सञ्चालनमा ल्याउँदै हुनुहुन्छ । सो थिएटर असोजबाट सञ्चालन हुने तयारीमा छ ।
आठ वर्षअघि नाटक घर निर्माणसँगै पोखरेली रङ्गमञ्चमा नियमित नाटक मञ्चन हुने पोखरा थिएटर अध्यक्ष परिवर्तन कार्कीले बताउनुहुन्छ । “पोखराको रङ्गमञ्चको पहिला जस्तो गरिमा थियो, त्यो अब पुनरावृत्ति र अगाडि जाने सम्भावना छन् । पोखरा आवतजावत गर्ने ठाउँ भएकाले पनि यहाँ रङ्गमञ्चको सम्भावना छ,’’ उहाँले भन्नुभयो ।
पोखरामा राम्रो र व्यवस्थित हलको अभाव नाट्यकर्मीलाई मात्र होइन, दर्शकलाई पनि खड्किएको थियो । यही अभावलाई चिर्दै थिएटर सञ्चालनमा आएसँगै नाटक हेर्न पोखरेली उत्साहित देखिन्छन् । पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित थिएटरले समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्दै आएको उहाँले बताउनुभयो ।
कलाकार माओत्से गुरुङ नाटक मञ्चनसँगै पोखराको नाट्य क्षेत्रले गति लिएको बताउनुहुन्छ । उहाँले थिएटर निर्माण र नाटक मञ्चनबाट मात्रै रङ्गमञ्च अगाडि जान नसक्ने बताउनुहुन्छ । पोखरामा अझै गुणस्तरीय नाटकको खोजी र व्यवस्थापनको आवश्यक रहेको उहाँको भनाइ छ । “गुणस्तरीय नाटक देखाएर दर्शक नियमित तान्न सक्नुपर्ने हुन्छ । नाटक मात्र देखाएर हुँदैन, गुणस्तरीय मञ्चन गर्न सकेन भने जति सुकै देखाए पनि फड्को मार्न सक्दैन,” उहाँले भन्नुभयो । पोखरेली रङ्गमञ्चको पुनरागमनले कलाकार प्रकाश घिमिरे उत्साहित हुनुहुन्छ । एकपछि अर्को नाटक मञ्चन हुन थालेपछि व्यावसायिक रङ्गमञ्चको सम्भावना बढेको उहाँको भनाइ छ । अहिले अन्तर्राष्ट्रियस्तरका र काठमाडौँका थिएटरको सहयोगमा नाटक देखाइए पनि पोखरेलीले अब कस्तो नाटक देखाउने भन्नेबारे सोच्नुपर्ने दिन आएको उहाँले औँल्याउनुभयो ।
“हिजो पनि प्रयास भएका थिए तर सफल हुन सकेनन् । अहिले समय आएको छ । यहाँ पनि अब नाट्यशाला नियमित रूपमा चल्ने समय आएको छ । व्यवस्थित नाट्यशाला अहिलेको आवश्यकता भएकाले यो बिस्तारै पूरा हुँदै गएको छ,” उहाँले भन्नुभयो । विसं २०३० र ४० को दशक पोखरेली रङ्गमञ्चका लागि स्वर्णिम युग बनेको थियो । त्यस दशकमा १० भन्दा बढी नाट्य समूह गठन भएका थिए । नाटकको बजार चुलिँदै गर्दा २०५० सालको दशकमा सशस्त्र युद्ध सुरु भएपछि नाटकको विरासत जोगाउन मुस्किल भयो । त्यसपछि नाटकमा हुने क्रियाकलापमा संलग्न संस्था ह्यात्तै घटे, केही पलायन पनि भए । यद्यपि अहिलेको रङ्गमञ्चको सक्रियताले भने पुरानै दिन फर्किनेमा रङ्गकर्मी आशावादी छन् ।