• ८ जेठ २०८१, मङ्गलबार

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

blog

फाइल तस्बीर

काठमाडौँ, असार २ गते । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो ।

महिलाका लागि पहिलोपटक सुरु हुन लागेको रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सीज (नारा) ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरुका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले यो तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै बोर्डले आगामी दिनमा नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । युएनडिपीका पोर्टपोलियो म्यानेजर कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो । उक्त तालिमले महिला शक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उहाँको भनाइ थियो ।

नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाईड उपलब्ध गराएर महिलालाई समेत रोजगारी ग्यारेन्टी भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

असार १५ गतेसम्म चल्ने तालिममा ५३ महिलाको सहभागिता रहने नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । युएनडीपीले नेपालको कोरोनाबाट थलिएको पर्यटन प्रवद्र्धनलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले अल्पकालीन रोजगार तथा तालिमका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

उक्त कार्यक्रमबाट देशभर छ हजारभन्दा बढी व्यक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिनुभयो ।