सुदीप राउत
सिराहा, असार ६ गते । यो आँप पाक्ने याम हो । सिराहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिराहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ ।
आँपको राजधानीका रूपमा लिइन्छ सिराहालाई । यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभएर जनमानसमा विकसित भएको उपमा हो । सिराहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्त्व जस्ता कारण मुख्य हुनसक्छ ।
आँप केवल स्वादिलो फलमात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो । त्यही भएर यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ । यसको खेतीमा जीवनयापन गर्ने हजारौँ व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ । आँप केवल स्वाद र सुगन्धको प्रतीकमात्र होइन, यो धेरैका लागि जीवनको आधार पनि हो ।
गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठुलो व्यावसायिक आँप खेतीको नमूना बनेको छ । यो बगैँचाले केवल उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि प्रदान गरेको छ ।
“पहिला परम्परागत रूपमा खेती गथ्र्यौँ, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौँ”, किसान निरज सिंहले भन्नुभयो, “आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेका छन् । सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र त्यसलाई काठमाडौँ, पोखरा, वीरगन्ज, जनकपुरसम्म लैजाने गरेका छौँ ।” बगैँचाबाट हरेक वर्ष लाखौँ रूपैयाँको आँप बिक्री हुने गरेको उहाँको भनाइ छ ।
नेपालमा आँपको मुख्य मौसम सुरू नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार, जेठको दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामात्र परिपक्व हुन सुरू गर्छन् । “यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्”, उहाँले भन्नुभयो ।
यहाँका आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन् । सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्नुहुन्छ, “हामीले मेहनत गरेर आँप उत्पादन गर्यौँ, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठुलो घाटा सहनुपरेको छ । एकातिर आँपको उत्पादन घटयो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो ।”
भारतीय आँप नेपालमा सस्तो मूल्यमा पाइने भए पनि, उपभोक्ताले धेरैजसो अवस्थामा रसायन प्रयोगको डर, कम स्वाद र कम ताजगीजस्ता गुनासो व्यक्त गर्ने गरेका छन् । नेपालमा फलफूल आयातका सम्बन्धमा स्पष्ट नीतिको अभाव, कमजोर सीमास्तर निगरानी र स्थानीय उत्पादनको संरक्षण नहुनु मुख्य कारण मानिन्छ । किसानहरू भन्छन्, “नेपाल सरकारले कागजमा आत्मनिर्भरता भन्ने नारा लगाउँछ, तर व्यवहारमा किसानको संरक्षण छैन ।”
स्वाद र गुणस्तरमा अब्बल भए पनि स्थानीय आँप उत्पादनले बजारमा भारतीय फलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ । विदेशी आँप बढी चम्किला, आकर्षक देखिए पनि तीमध्ये धेरैमा अत्यधिक विषादी वा रसायन प्रयोग हुने गरेको खबर सार्वजनिक भइरहन्छन् । लहान–२४ का व्यावसायिक किसान शम्भु चौधरी भन्नुहुन्छ, “हामीले रोग नियन्त्रणका लागि केही जैविक उपायमात्र अपनाउँछौँ र अत्यधिक विषादी प्रयोग गर्दैनौँ । यसैले हाम्रो आँप स्वादिलो, सुरक्षित र ताजा हुन्छ ।”
आँप उत्पादनमा सिराहा पहिलो
मधेश प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो । यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ । प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँप खेती हुँदै आएको छ । आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा. उमेश दाहालको भनाइ छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसबाट वार्षिक उत्पादन हुने पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँपमा मधेश प्रदेशमा मात्र २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।
आँप उत्पादनका दृष्टिले सिराहा सबैभन्दा अगाडि छ । सिराहमा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ ।
स्वादमा नामी
नेपालका विभिन्न सहरमा ‘लहानको माल्द आँप’ भनेर बिक्री हुने आँप स्वादका हिसाबले चर्चित त छ, तर पछिल्लो समय बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’का कारणले यसको बदनामी पनि उत्तिकै बढ्दो छ । लहानकै माल्दको स्वाद पाएकाहरू माझ भने यो आँप नामी छ ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्नुहुन्छ, “लहानकै वास्तविक माल्द आँप खाएका उपभोक्ता यसको मिठास, सुगन्ध र प्राकृतिक रसिलोपनाको खुलेर प्रशंसा गर्छन् । तर बजारमा यही नाममा कम गुणस्तरका, समय अगावै टिपेर पकाइएका वा भारतीय आँप बिक्री हुँदा उपभोक्तामा भ्रम र असन्तुष्टि बढेको छ ।” राजमार्गको उत्तरी भेगमा पर्ने सिराहाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा सुक्खा जमिनमा फल्ने आँप दक्षिणी भेगमा ओसिलो ठाउँमा फल्ने आँपभन्दा स्वादिलो र मिठो हुन्छ ।
स्थानीय आँपको ‘ब्रान्डिङ’
‘लहानको आँप’ भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउनेलाई निरुत्साहित गरी अग्र्यानिक लहानको आँपको प्रवर्धन गर्न लहान नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको माल्द आँपलाई ‘ब्रान्डिङ’ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाइने गरिएकोे छ । गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गर्नाले उपभोक्ता र उत्पादक नठगिने नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीले बताउनुभयो ।
जसअनुसार पहिलो वर्ष ३० मेट्रिक टन र दोस्रो वर्ष ९० मेट्रिक टन आँप ‘ब्राण्डिङ’ गरी काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा बिक्री गरेको कृषि संयोजक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी यस वर्षबाट गोलबजारको आँपलाई पनि ‘ब्रान्डिङ’ गरिएको छ ।
उत्पादन कम भएपछि गरिएन ‘ब्रान्डिङ’
आँपको उत्पादनमा कमी भएपछि यस वर्ष यहाँको आँपलाई ‘ब्रान्डिङ’ नगरिएको लहान नगरपालिका कृषि शाखाले जनाएको छ । एक वर्ष बिराएर फल्ने आँप गत वर्ष लटरम्म फलेकाले यस वर्ष गत वर्षको तुलनामा उत्पादनमा २० प्रतिशतले कमी आएको छ । जसले गर्दा मागअनुसार पुर्याउन नसक्ने भएकाले यस वर्ष ब्रान्डिङ नगरेको लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो ।
सप्तरीको सुरूङगामाई नगरपालिकाको उत्तरी भेगमा पर्ने श्रीपुर क्षेत्रमा उत्पादन हुने ठुलो परिमाणको आँपको बजार पनि लहान हो । सिरहा जिल्लाभित्र राष्ट्रिय राजमार्गसँग जोडिएको र चुरे क्षेत्रको वातावरण रहेको लहान, गोलबजार, धनगढीमाई, गोलबजार मिर्चैया र कर्जन्हा नगरपालिकाले ५० प्रतिशत अनुदानमा आँपको बिरुवा किसानलाई वितरण गर्ने कार्यक्रम ल्याएपछि आँपखेतीको विस्तार भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठको भनाइ छ ।
चिस्यान केन्द्र नहुँदा समस्या
विसं २०८१ चैत २६ गते मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताउनुभएको थियो । मधेशको आँपको रसलाई जुसका रूपमा ब्रान्डिङ गरेर मनग्य आम्दानी लिन सकिने प्रधानमन्त्रीको भनाइ थियो । तर आँपको भण्डारण गर्न आवश्यक पर्ने चिस्यान केन्द्र सिरहामा मात्र होइन, मधेश प्रदेशमै छैन ।
चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तहको स्रोतसाधनले नधान्ने लहान नगर प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक पहलकदमी गरेता पनि बेवास्ता गरिएको उहाँले गुनासो गर्नुभयो । “‘व्यवस्थित चिस्यान केन्द्र भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे । त्यसका लागि केन्द्र तथा प्रदेश सरकारसमक्ष कुरा राखे पनि अहिलेसम्म प्रगति हुन सकेन । सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा चिस्यान केन्द्र नहुनु विडम्बना हो ।”
सरकारले आँपखेती गर्ने व्यावसायिक किसानका लागि चिस्यान केन्द्र, प्रशोधन कारखाना र निर्यातमा सहजीकरण गरिदिए मधेशको आँप अन्तरराष्ट्रिय ब्रान्ड बन्न सक्ने जानकारहरू बताउँछन् । उत्पादन र वितरण दुवै पक्षमा सुधार गर्दै लगियो भने मधेशको आँपखेतीले व्यावसायिक कृषिको क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने सम्भावना निकै बलियो छ । रासस