ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असार ६ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार २६४ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । विगतको तथ्याङ्क अनुसार यस वर्ष कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको पाइएको छ ।
यस वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामध्ये ४६१ महिला र ८०३ पुरुष रहेका छन् । कुल सङ्ख्यामध्ये सार्क देशका ४० जना र बाँकी सार्क देश बाहिरका रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी आदर्श क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार सबैभन्दा बढी अमेरिका, बेलायत र फ्रान्सबाट पर्यटक आएका छन् ।
यस्तै गत कात्तिकमा सबैभन्दा बढी ५६६ विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो । त्यसपछि असोजमा २४७ जना, चैतमा २१६ र वैशाखमा २०६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । त्यस्तै जेठ मसान्तसम्ममा ५२ जना मात्र नेपाली अर्थात् आन्तरिक पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।
गत आवमा भने एक हजार ५६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । उक्त वर्ष सार्क देशका ३९ जना र सार्कबाहिरका देशबाट एक हजार १७ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कमा रहेको छ । आन्तरिक भने ३५ जना पर्यटकले मात्र भ्रमण गरेका थिए । विशेष गरी वर्षमा दुई मौसम कञ्चनजङ्घा क्षेत्रको भ्रमण तथा आरोहणका लागि विदेशी पर्यटक आउने गरेका छन् । प्रत्येक आवको पहिलो मौसम असोज र कात्तिक महिना तथा दोस्रो मौसम चैत, वैशाख र जेठ महिनामा भ्रमणका लागि पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।