• १ असार २०८२, आइतबार

डुबान क्षेत्रका बस्तीमा बाढीको त्रास

blog

धनगढी समाचारदाता

धनगढी, असार १ गते । कैलालीको डुबान प्रभावित क्षेत्रका बस्तीमा बाढीको त्रास बढेको छ । 

यो जिल्लामा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना बढी रहेका कारण डुबान प्रभावित क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको हो । कैलालीमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । जल तथा मौसम विज्ञान विभागले नै सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको भनेका कारण स्थानीयमा बाढी र डुबानको त्रास बढेको भजनी नगरपालिका–५, लालबोझीका खोजराम चौधरीले बताउनुभयो । आफ्नो क्षेत्रमा कान्द्रा र मोहना नदीले बर्सेनि समस्या गर्दै आएको जनाउँदै उहाँले भन्नुभयो, “यो वर्ष अझ बढी डुबान हुने हो कि भन्ने त्रास समुदायमा छ ।” कैलालीमा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा बाढीको उच्च जोखिम रहेको छ । यी क्षेत्रका अधिकांश भूभागमा बर्सेनि डुबान हुने गरेको छ । 

हरेक मनसुन विपत्को सामना गर्दै आएका समुदायका मानिस बर्खा लाग्न थालेपछि त्रसित बनिरहेको सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँले सरदरभन्दा बढी पानी पर्ने भनिएका कारण समुदायमा त्रास रहेको उल्लेख गर्नुभयो । “यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपणका कारण समुदायमा एक खालको त्रास छ,” ढुङ्गानाले भन्नुभयो, “यद्यपि समुदायका मानिस पूर्वतयारी पनि गरिरहेका छन् । सतर्क छन् ।”

टीकापुर र भजनी नगरपालिकामा मोहना, पथरैया, काँढा र कान्द्रा नदीले बढी समस्या गर्दै आएका छन् । पथरैयाको धेरै जसो क्षेत्रमा तटबन्ध गरिएपछि कटान समस्या नियन्त्रणमा आएको बताइएको छ । डुबान समस्याको भने समाधान हुन नसकेको डुबान प्रभावित क्षेत्रमा रहनुभएका ढुङ्गानाको भनाइ छ । 

जल तथा मौसम विज्ञान महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको छ । त्यस्तै पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर; रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई प्रभावित गर्दै आएको छ । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको छ । यसै गरी कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दैै आएको जनाइएको छ । 

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावनाका कारण नदीहरूमा बाढी अलि बढी आउन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको सो कार्यालयका प्रमुख सञ्जय साहले बताउनुभयो । उहाँले कैलालीमा आफ्नो कार्यालयले १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिसकेको जानकारी दिनुभयो ।