• ३० जेठ २०८२, शुक्रबार

अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि मोसो प्रहार

blog

दीपक प्रसाद गौतम

वीरगन्ज, जेठ २९ गते । आफूलाई नेकपा बहुमत पार्टीको कार्यकर्ता बताउँदै  युवाहरुकाे समुहले उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा खुसीराम थारुलाई बिहीबार उहाँकै इजलासमा  कालो मसी (मोसो) प्रहार भएको छ।

उच्च अदालत अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले न्यायाधीश थारुमाथि भएको आक्रमणको पुष्टि गर्नु भएको छ । इजलास सकेर फैसला लेखिरहनु भएका श्रीमानको इजलास कक्षमा जबरजस्ती प्रवेश गरी भष्टचारी मुर्दावाद,  बहुमत पार्टी जिन्दाबाद भन्दै श्रीमान् न्यायाधीश खुसीराम थारुको शरीरमा कालो  मसी छर्केछन्  । तत्काल नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छौँ रजिस्ट्रार भण्डारीले गोरखापत्रसँग भन्नुभयो।

अहिले सुरक्षा निकायसँग यसै घटनाका विषयमा छलफल गरी रहेको रजिस्ट्रार भण्डारीले बताउनु भयो। मोसो प्रहार लगत्तै  घटनामा संलग्न तीन जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उहाँले बताउनु भयो।

न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि मानिसलाई इट्टा भट्टामा जिउँदै जलाएर मारेको ज्यान मुद्दामा कारागारमा रहेका नेपाली काँग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो। यसै फैसलाको विरोध गर्दै मोसो प्रहार गरिएको बताइएको छ ।

जनताको विपक्षमा फैसला गरेको आरोप लगाउँदै नेकपा बहुमतको निर्णय बमोजिम कारबाही गरिएको घटनामा संलग्न कार्यकर्ताहरूले बताएको प्रत्यक्षदर्शीले बताएका छन् ।