हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २९ गते । अन्नपूर्ण पदमार्ग अन्तरगत थोरोङ पास हुँदै मुक्तिनाथबाट–लुप्रा–पाण्डाखोला हुदै जोमसोम निस्किने अधिकांश विदेशी पर्यटकको रोजाइमा पर्ने पैदल मार्ग हो । मुक्तिनाथबाट करिब साढे ४ घण्टामा सदरमुकाम जोमसोम निस्कने मार्ग पहिरोको कारण अवरुद्ध भएको थियो ।
वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा पर्ने यो पर्यटक पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति, मुक्तिनाथको अगुवाइमा साढे ५ लाखको लागतमा मर्मत गरेपछि सञ्चालनमा आएको छ । पर्यटक तथा मुक्तिनाथ मन्दिरको दर्शन गरी सडक सञ्जाल छोडेर पदमार्गमा रमाउने पर्यटकले प्रयोग गर्ने मार्गलाई सहज बनाएपछि अहिले आवतजावत सहज भएको एक्याप जोमसोमका प्रकृति श्रोत संरक्षण सहायक दीपक ओलीले बताउनुभयो ।
संरक्षण सहायक ओली भन्नुहुन्छ,‘‘पुराना पदमार्गलाई खोजी खोजी मर्मत भइरहेको छ,पदमार्ग मासेर मोटर बाटो निर्माणको स्थानमा वैकल्पिक मार्ग बनाइएको छ । ’’सडक सञ्जाल जोडेर प्रकृतिसँगै रमाउने पदमार्गहरूको मर्मत तथा सुधारमा एक्यापले बर्सेनि बजेट विनियोजन गरिरहेको छ । सडक सञ्जाल छोडेर पदयात्रामा रमाउने विदेशी पर्यटकले पुरानो मार्ग नै खोज्न थालेपछि एक्यापले स्थानीय स्तरमा गठिन संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत पदमार्गको मर्मत तथा विस्तार गर्ने गरेको छ । वारागुङ मुक्ति क्षेत्र वडा नं १ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले सडकले बिथोलेपछि घुम्न आउने विदेशी पर्यटक निराश हुने गरेको बताउनुभयो ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो,‘‘मोटर बाटोमा गाडी र धूलोले गर्दा विदेशी शान्त वातावरणमा यात्रा गर्न चाहन्छन् ।’’पुरानो पदमार्ग, गोरेटो बाटोमा पर्यटकलाई सहज हुने गरी साइन जानकारीमूलक सूचना बोर्डको पुनर्लेखन,साइन तथा पानीको स्रोत भएको स्थानमा खानेपानी, शौचालयको सुविधा भएमा स्वदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने संरक्षण क्षेत्र व्यवस्थापन समिति,मुक्तिनाथका अध्यक्ष ध्युमी गुरुङको भनाई छ । पदमार्ग आसपासका क्षेत्रमा जैविक विविधताको अध्ययन,वन्यजन्तुको अवलोकन सहित प्राचीन सभ्यता झल्किने सम्पदा, प्राकृतिक सौन्दर्ययताले पर्यटक लोभिने गर्छन् । मुस्ताङको निकै प्रख्यातमध्ये कागबेनी–लोमान्थाङ पदमार्ग समेत सडकले पुरेपछि सवारीसाधनको धूलो खाँदै यात्रा गर्नुपर्ने बाध्य छन् ।
मुस्ताङको पाँच वटै गाउँपालिकामा रहेका पुराना पदमार्गको मर्मत सम्भार तथा सम्भव भएको स्थानमा समुदायसँग सहकार्य गरी स्थानीय तहसँगको सहकार्यमा मनाङको तिलिचो ताल जोड्ने ठिनीदेखि तिलिचो पदमार्ग, सौरुदेखि सिर्खुम, टिटी ताल–कुञ्जो–देउराली हुँदै पेरोथाप्ला, छैरो–चिमाङ, चिमाङ–छैरो लगायत समुदायको पहलमा मर्मत तथा विस्तार भइरहेका छन् ।
बेनी–जोमसोम–कोरला सडक खण्ड विस्तारैसँगै तल्लो र माथिल्लो मुस्ताङमा पदमार्ग विस्थापित भएपछि स्थानीय पर्यटन व्यवसायीले पर्यटकको यात्रा लम्बाउन पदमार्गको सुधार र नयाँ पदमार्ग खोजीको आवाज उठाउने गरेका छन् ।