घोराही, जेठ २९ गते । दाङको भौगोलिक रूपमा विकट मानिने हाँसीपुर क्षेत्रलाई यातायातसँग जोड्ने बिपी मार्ग अन्तर्गत स्वामीघाटदेखि हाँसीपुरसम्मको सडकका घुम्तीमा ढलान गर्न थालिएको छ ।
पहाडी क्षेत्रमा बर्खामा पानीले सडक बिगार्ने भएपछि बगलाचुली गाउँपालिका–८ अन्तर्गत पर्ने क्षेत्रमा सडकका घुम्तीमा आरसिसी ढलान गर्ने काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले ढलान गर्दा सडक बलियो हुने र बर्सातको समयमा पनि गाडी सञ्चालन गर्न सकिने जानकारी दिनुभएको छ । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारको एक करोड बजेटबाट घुम्तीमा ढलान गर्ने काम जय सीताराम निर्माण कम्पनीले गरिरहेको छ ।
सडकको स्तरोन्नतिसँगै घुम्तीमा ढलान गरेपछि बर्खामा समेत गाडी चलाउन सकिने उहाँको भनाइ छ । अर्यालले भन्नुभयो, “पहाडी क्षेत्रको उकालो सडक भएकाले पानीले सडक बिगार्ने भएपछि आरसिसी ढलान गर्न थालेका छौँ । ढलान भएपछि सडक बिग्रने छैन ।” उहाँका अनुसार अर्जुनखोला स्वामीघाटदेखि हाँसीपुरसम्मका करिब १०/११ वटा घुम्तीमध्ये यो वर्ष सात वटा घुम्तीमा ढलानको काम हुँदै छ । कार्यालय प्रमुख अर्यालले उक्त सडकखण्डका सबै घुम्तीमा आरसिसी ढलान गर्नुपर्ने आवश्यकता रहे पनि बजेट अभावका कारण सबै ठाउँमा ढलान गर्न नसकिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा काम सक्ने गर्ने गरी धमाधम ढलानको काम भइरहेको भन्दै यो काम सकिएपछि बर्खामा पनि गाडी हाँसीपुरसम्म जान सक्ने छन् । कार्यालय प्रमुख अर्यालका अनुसार बजेटले निरन्तरता पाए बाँकी घुम्तीमा ढलानसँगै पक्की नाला निर्माणको काम आगामी वर्ष हुने छ ।
बगलाचुली गाउँपालिका–८, हाँसीपुर निवासी गोपाल पुनले भन्नुभयो, “यो वर्ष घुम्तीमा ढलानसँगै सडक ग्राभेल भएको छ । यसले बर्खामा पनि गाडी चल्छ कि भन्ने आशा पलाएको छ ।” उहाँले प्रदेश सरकारले सडकको स्तरोन्नतिसँगै घोराही उपमहानगरपालिका–१ र बगलाचुली गाउँपालिका–४ लाई जोड्ने सुकाखोला र वडा नं. ४ कै मुगखोलामा पुलको आवश्यकता रहेको बताउनुभयो । पुल निर्माण भएपछि खाद्यन्नलगायतका सामग्री ल्याउन र घोराही बजार जान सहज हुने उहाँको भनाइ छ । प्रदेश राजधानी भालुवाङ क्षेत्रलाई घोराहीसँग जोड्ने वैकल्पिक सडकका रूपमा रहेको बिपी मार्गको घोराहीदेखि सिमलतारासम्मको सडक कालोपत्रे भइसकेको छ ।