• ३० जेठ २०८२, शुक्रबार

पाँच हजार फिर्ता लिन घाममा लाम

blog

ज्योति पन्थी

बबई (बर्दिया), जेठ २९ गते । गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्रीबापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्कमा बचत राख्नुभयो । 

त्यतिबेलासम्म कर्णाली विकास बैङ्क सहज तरिकाले सञ्चालन भइरहेको थियो । टीका योगीले पैसा राखेको केही महिना नबित्दै २०८१ पुस १० गते नेपाल राष्ट्र बैङ्कले कर्णाली विकास बैङ्कलाई सङ्कटग्रस्त घोषणा गरी आफ्नो नियन्त्रणमा लियो । त्यसपछि बल्ल सर्वसाधारणले बैङ्क खतरामा रहेको थाहा पाए । 

राष्ट्र बैङ्कले नियन्त्रणमा लिएको कर्णाली विकास बैङ्कले महिनाको तीन पटक निक्षेप कर्तालाई पाँच हजारका दरले रकम भुक्तानी दिन थालेपछि अहिले ४२ डिग्री तापक्रममा पनि मानिस बैङ्क धाउन बाध्य भएका छन् । 

आफूले जग्गा बेचेर बैङ्कमा राखेको पैसा १२ गते निकाल्न आउँदा योगीले पैसा पाउनुभएन । राष्ट्र बैङ्कको नियन्त्रणमा पुगेको कर्णालीको व्यवस्थापन अझै सुदृढ हुन 

सकेको छैन भने टीका जस्ता सयौँ निक्षेप सङ्कलनकर्ता यतिबेला बिचल्लीमा परेर बैङ्क धाइरहेका छन् । बर्दिया मात्र हैन बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैङ्कको दाङ, बाँके, बर्दियाका १९ वटा शाखामा अहिले दैनिक मानिस आफ्नो निक्षेप फिर्ताका लागि धाउन थालेका छन् । 

बारबर्दिया नगरपालिका–१० का मिकीलाल थारूले भन्नुभयो, “पैसा झिक्न आउँदा बैङ्क डुबिसकेको थाहा भयो, अहिले पाँच हजार भए पनि लिनुपर्ने अवस्था छ ।” गुलरिया नगरपालिका–१२ निवासी अब्दुल बारीले तराईमा बढ्दो गर्मीसँगै अहिले मानिसहरू आफ्नो निक्षेप फिर्ता पाइन्छ कि भनेर दिनदिनै बैङ्क धाउने गरेको बताउनुभयो । राष्ट्र बैङ्कका अनुसार कर्णाली विकास बैङ्क अहिले पनि एक अर्ब ३३ करोड घाटामा रहेको देखिन्छ । 

कर्णाली विकास बैङ्कका प्रवक्ता विष्णुकुमार विश्वकर्माले अनुगमनका क्रममा विगतदेखि नै कर्णाली विकास बैङ्क धराशायी बन्दै गएको भन्दै यसअघि पनि बैङ्कका अध्यक्ष राजेन्द्रवीर राय र निर्देशक दिनेश रावतलाई पाँच/पाँच लाख जरिबाना तिराएर बर्खास्त गरेको बताउनुभयो । हाल रायलाई पक्राउ गरिएको छ ।

बैङ्कको निक्षेप सङ्कलन चार अर्ब ५० करोड देखिन्छ भने कर्जा लगानीतर्फ हेर्दा दुई अर्ब लगानी र ८० करोड ब्याज उठ्न बाँकी देखिन्छ । कर्णाली विकास बैङ्कको बर्दियामा मात्र गुलरिया, मधुवन, राजापुर, भुरिगाउँ र बाँसगढी गरी पाँच वटा शाखा सञ्चालनमा छन् ।