• ३० जेठ २०८२, शुक्रबार

गणतन्त्रको स्थायित्वमा गोरखापत्रको भूमिका महत्त्वपूर्ण: मन्त्री लेखी

blog

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलगायत । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केबर, जेठ २८ गते । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा धनुषाको ढल्केबरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेस प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुई दिने कार्यक्रम बुधवारदेखि सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि गोरखापत्रको अतुलनीय भूमिका रहेको बताउनुभयो । उहाँले मधेस प्रदेश विविधताले भरिएको प्रदेश भएको उल्लेख गर्दै यहाँका सञ्चारकर्मी अन्य प्रदेशको पत्रकारभन्दा बढी चुनौतीपूर्ण परिस्थितिमा काम गर्नु परिरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “भारतसँगको खुला सिमाना, बहुजातीय समाज र विविध सामाजिक–राजनीतिक मुद्दाका कारण सञ्चारकर्मीको जिम्मेवारी यहाँ झन संवेदनशील र जटिल छ । यस्तो चुनौतीबिच सञ्चार क्षेत्रको विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्दै यस पटक सुरक्षा निकाय बराबरको बजेट सिलिङ तय गरेको छ ।”

उहाँले केही पत्रकारका कारण सिङ्गो सञ्चार क्षेत्र बदनाम भइरहेको गुनासो गर्दै आफूलाई पनि बदनाम गराउने षड्यन्त्र भएको आरोप लगाउनुभयो । मन्त्रालय सम्हालेपछि दुई पटक आफूविरुद्ध गलत प्रचारको प्रयास भएको उहाँले उल्लेख गर्नुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधेस प्रदेशको सांस्कृतिक र सामाजिक विविधता, समृद्धिको सम्भावना र राष्ट्रिय एकतालाई गोरखापत्र प्रकाशनले विशेष प्राथमिकतामा राख्दै समाचार सम्प्रेषण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यस प्रदेशबाट प्राप्त सद्भाव गोरखापत्रका लागि प्रेरणादायी छ । आगामी बजेटमा पनि गोरखापत्र संस्थानले राम्रो स्थान पाउने विश्वास छ ।”

गोरखापत्रको निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले मधेस प्रदेश सरकारसँगको सहकार्यबाट सञ्चार क्षेत्रको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सञ्चार क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन यस्तो कार्यक्रम उपयोगी हुनेमा जोड दिनुभयो । 

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशका सञ्चारकर्मीको दक्षता अभिवृद्धि, भौतिक सुरक्षा र प्रविधि विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो । उहाँले सञ्चारकर्मीका लागि स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ४६० जना पत्रकारको बिमा गरिए पनि सात जनाले मात्रै हालसम्म लाभ लिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  “बिमा कार्यक्रमबाट सबै सञ्चारकर्मी लाभान्वित हुनुपर्छ यसको उपयोग नहुँदा कार्यक्रम अर्थहीन बन्ने अवस्था आउँछ । उहाँले पत्रकार जीवन बिमा योजना पनि तयारी गरिरहेको जानकारी गराउँदै आमसञ्चार प्राधिकरण सधैँ सञ्चारकर्मीको हकहित र विकासमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेसकुमार झाले मधेसको विषयवस्तुलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । पत्रकारको क्षमता बृद्धिका लागि मधेस सरकार सदैव प्रतिवद्ध रहने उहाँले बताउनुभयो । 

कार्यक्रममा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य तथा अनलाइन प्रकाशनका सम्पादक लक्की चौधरी, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, गोरखापत्र बहुभाषिक पृष्ठ नयाँ नेपालका संयोजक विवेकानन्द मिश्र, आमसञ्चार प्राधिकरणका ज्योति झा, नविन गुप्ता लगायतको सहभागिता थियो ।  कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ ।